काठमाडौं – काठमाडाैं उपत्यका नगरपालिका फोरमका पदाधिकारीले सरकारसँग कोरोना संक्रमणबाट उपत्यकालाई जोगाउन निर्वाध प्रवेश लाई पूर्णारूपमा रोक्नुपर्ने माग राखेका छन् । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेट गरी उनीहरुले यस्तो माग राखेका हुन् ।
उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमका पदाधिकारीले संयोजक पोख्रेललाई भेटी उपत्यकाभित्र निर्वाध आवत–जावतलाई कडाई गरी उपत्यकाभित्र भने केही खुकुलो बनाउनु पर्ने माग गरेका हुन् ।
आवत–जवतलाई कडाई गरे पनि उपत्यका भित्रको चहल–पहललाई भने केही खुकुलो बनाउनु पर्ने प्रस्ताव पनि पोख्रेलसँग राखेको शाक्यले जानकारी दिए।
‘काठमाडौंबाट मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउने र बाहिरबाट पनि काठमाडौँ पठाउने होडबाजी गर्दा त्यसले झन थप समस्या हुन्छ । यसलाई कडाईका साथ रोक्नुपर्छ भनेर पनि भनेका छौँ,’ उहाँले भन्नुभयो, ‘हाम्रो मागप्रति मन्त्रीज्यु सकारात्मक हुनुहुन्छ । उहाँले समितिको बैठक र मन्त्रिपरिषद्मा समेत यी कुरा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।’ संयोजक पोख्रेललाई भेट्न मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबू महर्जन, सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, संघीय सांसदहरु कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठलगायत पुगेका थिए ।
‘उपत्यकालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रित भएर हामीले छलफल गर्यौँ,’ मध्यपुर ठिमी नगरपालिकाका प्रमुख एवं फोरमका सचिव श्रेष्ठले भने, ‘पुनः लकडाउन थप्ने र खुकुलो बनाउने भन्ने कुरा आइरहेको छ । खुकुलो बनाउने नाममा उपत्यकामा निर्वाध प्रवेश दिनुहुँदैन भनेर हामीले प्रष्टसँग भनेका छौँ ।’
श्रेष्ठले पनि फोरमका मागप्रति मन्त्री सकारात्मक रहेको जानकारी दिए। ‘उपत्यका भित्रको चहलपहललाई खुकुलो बनाउने तर उपत्यका बाहिरबाट आउने र बाहिर जानेलाई कडाई गर्नुपर्छ त्यो भयो भने मात्र उपत्यका सुरक्षित रहन्छ । हामीले हेलचेक्राईँ गर्ने र एक–दुई जना मात्रै संक्रमित उपत्यकामा प्रवेश गर्ने अवस्था भयो भने अवस्था भयावह हुनसक्छ भन्ने जानकारी गराएका छौँ,’ श्रेष्ठले भने, ‘भेटमा उपत्यकाका साना व्यवसायी र खेती–किसानीलाई सहज बनाउनुपर्छ भनेका छौँ ।’
फोरमलेले केही समय अघि राहतको अभावमा उपत्यका नछाड्न उपत्यकावासीलाई आग्रह गर्दै संयुक्त अपिल जारी गरेको थियो । फोरमले यसअघि पनि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा निर्वाध रुपमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुने भन्दै त्यसो नगर्न आग्रह गरेको थियो ।
फोरमले कोरोना विरुद्धको लडाईँमा उपत्यकाका सबै नगरपालिका एक जुट हुने निर्णय पनि गरेको छ । नगरपालिका फोरमले उपत्यकाका सबै नाकाबाट आवत–जावत हुने सवारीलाई अनिवार्य सेनिटाइजर गरेर मात्रै आवत–जावतको प्रवन्ध गर्नुपर्ने लगायतका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ ।


















