सरकारले भारतलाई दियो लिपुलेकबारे ‘कूटनीतिक नोट’

106

काठमाडौं – जारी लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपाल सरकारको धारणा राख्न परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएको छ । राजदूत क्वात्राले सोमबार बिहान साढे ११ बजे सिंहदरबारमा भेट गरेका हुन् ।

राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकर वैरागीसहितका पदाधिकारीलाई मन्त्रालयमा भेटेका छन् । परराष्ट्र स्रोतका अनुसार नेपाली भूभागभित्र रहेको लिपुलेकमा बिनासूचना र जानकारी भारतीय पक्षले सडक निर्माणसहितका गतिविधि जारी राखेकोमा राजदूत क्वात्रालाई ‘कूटनीतिक नोट’ समेत दिइएको छ ।

यस विवादमा भारतीय पक्षसँग उच्चस्तरीय वार्ताको लागि पहल भइरहे पनि भारतले कोभिड-१९ को संकटपछि मात्रै यसबारे कुराकानी गर्ने भनेर पन्छिँदै आएको छ ।

यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा नेपाल र भारतबीच सीमा समस्या समाधान गरेपछि चीनसँग छलफल गर्नुपर्ने बताएका थिए । उनले लिपुलेकमा भारतले सडक निर्माण गरेकोबारे तत्काल चीनसँग छलफल गर्न नहुने पनि बताएका छन् ।

गत शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए।

यसपछि भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै चौतर्फी विरोध जारी छ । कान्तिपुर पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here