काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस महामारीको सङ्कटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको बताउनुभएको छ ।
अध्यक्ष दाहालले भन्नुभयो, “नयाँ मानिस निर्माण गर्ने वैज्ञानिक र सांस्कृतिक सबै दृष्टिकोणले शिक्षकहरुको भूमिका महत्वपूर्ण रहँदै आएकामा अहिले यो भूमिकाको आवश्यकता झन् बढेको छ । नयाँ विश्व व्यवस्था र समाजवाद सुहाउँदो शिक्षा प्रणाली स्थापित गर्न शिक्षकहरुले नयाँ सन्देश दिन र परिचालित गर्न प्रशिक्षण एक महत्वपूर्ण पहलकदमी हो ।”
उहाँले हरेक नकारात्मकताभित्र मानिसहरुले सकारात्मकताको खोजी गरी विचार र शिक्षा प्रणालीको विकासका ठूलो योगदान दिनसक्ने भएकाले प्रशिक्षणमा सहभागी शिक्षकले त्यसअनुसारको सन्देश विद्यार्थी र अभिभावकसमक्ष लानुपर्नेमा पनि जोड दिनुभयो ।
सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले सामुदायिक र निजी विद्यालयका गरी २५० शिक्षक सहभागी रहेको प्रशिक्षणमा गुगल सर्टिभाइड प्रशिक्षक सुशील उप्रेतीको समूहले सहजीकरण गर्नेछ । रासस


















