नीति तथा कार्यक्रमप्रति गण्डकी प्रदेशमा असन्तुष्टि 

145

बागलुङ – नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रमले गण्डकी प्रदेशमा असन्तुष्टि पैदा गरेको छ। गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीले नै सामाजिक सञ्जाल फेसबुकमार्फत नीति तथा कार्यक्रममा असन्तुष्टि जनाएका छन्।

सरकारले ल्याएको बजेटले संघीयताको मर्मलाई कुल्चेको भन्दै मन्त्री किरण गुरुङले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका हुन्। ‘संघीय शासन प्रणालीको मर्म र भावनाविपरित, केन्द्रीकृत मानसिकतामा आधारित’ भन्ने टिप्पणी गुरुङले फेसबुकमा गरेका छन्। निकै लामो बिचार लेखेका गुरुङले स्थानीय र प्रदेश सरकारलाई झन कमजोर बनाउने खालको नीति तथा कार्यक्रम आएको उल्लेख गरेका छन्। ‘वर्तमान शासन प्रणाली विपरित सोझै स्थानीय तहसम्म कार्यक्रम संचालन गर्ने खालका नीति तथा कार्यक्रमले कतै संघीय व्यवस्था समाप्त हुने त हैन भन्ने प्रश्न उठ्नु र उठाउनु स्वभाविक देखिन्छ, ‘उनले लेखेका छन्, ‘हाम्रा नीति तथा कार्यक्रम र त्यसका निर्धारित गन्तव्य संवैधानिक छन् या छैनन्? संघीय शासन प्रणालीको मर्म र भावना अनुसार छन् कि छैनन्?’ उनले संघीयता भनेको भूगोल र सिमाना मात्रै नभएर त्यस भूगोलमा बस्ने विभिन्न समुदाय र नागरिकहरुको राष्ट्रिय पहिचान, एकता र सद्भावसहितको स्वाधीन अर्थतन्त्र  भएको जिकिर गरेका छन्। उनले यी यावत् विषयमा नीति तथा कार्यक्रम अस्पष्ट रहेको जिकिर पनि गरेका छन्।

मन्त्री गुरुङले कोराना महामारीका कारण देखा परेको राष्ट्रिय आर्थिक संकट र त्यसबाट मुलुकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा नीति तथा कार्यक्रमले स्पष्ट बोल्न नसकेको आरोप पनि लगाएका छन्। नीति तथा कार्यक्रमको बिषयमा निजी क्षेत्रले पनि असन्तुष्टि जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले संकटका बेला पनि लक्षहिन दस्ताबेजका रुपमा नीति तथा कार्यक्रम आएको टिप्पणी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here