काठमाडौं – प्रेस काउन्सिल नेपालले कोरोना संक्रमणको महामारीमा पनि पत्रकार आचारसंहिता स्वअनुगमन तथा विभिन्न मिडियाविरुद्ध परेका उजुरीको सुनुवाई एवम् कारबाहीमा सक्रिय भइरहेको छ।
कोरोना संक्रमणको महामारीको अवस्थामा सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने संचारमाध्यमहरुले तथ्यहिन समाचार सम्प्रेषण गरेको उजुरी परेको हुनाले प्रेस काउन्सिलले कृयाशिल्ता देखाएको छ ।
कोरोना संक्रमणको विषयमा बिनातथ्य समाचार तथा समाचार–सामग्री सम्प्रेषण गर्ने विभिन्न विद्युतीय र केही छापामाध्यमलाई स्पष्टीकरण/जवाफ र राय माग्ने, सचेत/ध्यानाकर्षण गराउने, निर्देशन दिने लगायतका कारबाही गरिएको प्रेस काउन्सिलले जनाएको छ ।
प्रेस काउन्सिलका अनुसार गत चैत १० गतेदेखि जेठ ८ गते सम्म विभिन्न छापा तथा विद्युतीय माध्यममाथि कारबाही गरेको छ ।
काउन्सिलको विज्ञप्ति अनुसार १३६ संचारमाध्यमहरुलाई स्पष्टीकरण/जवाफ र राय मागेको, सचेत/ध्यानाकर्षण गराएको तथा निर्देशन दिएको जनाइएको छ ।
काउन्सिलले ५९ संचारमाध्यमलाई स्पष्टीकरण/जवाफ मागेको छ भने २२ संचारमाध्यमलाई सचेत गराएको छ । यस्तै काउन्सिलले ४० संचारमाध्यमलाई निर्देशन दिएको छ भने १४ संचारमाध्यमलाई ध्यानाकर्षण गराएको छ ।


















