भक्तपुर – काठमाडौं उपत्यका नगरपालिकाहरुको संगठन उपत्यका नगरपालिका संघका महासचिव एवं मध्यपुर थिमि नगरपालिका भक्तपुरका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाका नगरपालिकाहरुलाई पन्छाएर उपत्यकाका चार ठाउँंहरुमा नयाँं सहर बनाउन नदिने जनाएका छन् । उपत्यकाका नगरपालिकाहरुसँंग समन्वय नगरी वेवास्ता गरेर काठमाडौं उपत्यका विकास प्राधीकरणमार्फत् संघीय सरकारले उपत्यकाभित्र बनाउने भनिएको चार सहर कुनै हालतमा बनाउन नदिने उदघोष उनले गरे । ‘हामी उपत्यकामा चार सहरहरु निर्माणको विरोधको पक्षमा छैनौं, मंगलबार भक्तपुरमा भएको एक कार्यक्रममा उनले भने, ‘तर काठमाडौं उपत्यका विकास प्राधीकरणमार्फत् गर्न दिंदैनौं ।’ उपत्यकामा चार नयाँ सहर बनाउने योजना विफल भए त्यसको दोष आफूहरुलाई नथोपर्न उनले अग्रीम चेतावनी पनि दिए ।
२०४५ सालको ऐनमा टेकेर अस्तित्वमा रहेको डा भाइकाजी तिवारी प्रमुख रहेको काठमाडौ उपत्यका विकास प्राधीकरण उपयुक्त नरहेको उनको भनाई छ । त्यसकारण काठमाडौं उपत्यकाका नगरपालिकाहरुसँंगको समन्वय सहकार्यमा मात्रै उपत्यकाभित्रको नयाँं सहर बनाउन दिने उनले बताए । ‘हामी एक इन्च भूमि पनि हामीसँंग समन्वय नगरी बनाइने नयाँं सहरका लागि दिन तयार छैनौं, उनले भने । नगरपालिका संघ अगाडिदेखि नै भाइकाजी र उनले नेतृत्व गर्दै आएको काठमाडौं उपत्यका विकास प्राधीकरणप्रति रुष्ट छ ।
सरकारले २०७७।०७८ को बजेट वक्तत्वमार्फत् उपत्यकाका बिभिन्न चार ठाउँंहरुमा नयाँं सहरको विकास गर्ने योजना अघि सारेको छ । काठमाडौं उपत्यकामा दुई वटा महानगरपालिका र विभिन्न नगरपालिकाहरु छन् । यहाँं काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर, कीर्तिपुर र मध्यपुर थिमि पुराना नगरपालिकासहित विभिन्न नयाँ नगरपालिकाहरु रहेका छन् ।















