साहशिलो कदम आवश्यक

144

– निमकान्त पाण्डे

नेपालको राजनीतिक संक्रमण झनै गहिरिंदै गैरहेको र हामी नेपालीहरु समस्यामा फस्दै गैरहेको महशुस हुन थालेको छ । एकातिर बिश्वलाई नै संत्रस्त बनाईरहेको कोभिड– १९ , कोरोना भाईरसले क्रमिक रुपमा नेपाललाई संकटग्रस्त बनाउँदै छ भने अर्कोतिर यस्तो महामारी बनिरहेको भाईरसको संक्रमण रोक्न सहयोग गर्नु पर्ने छिमेकी देशले संकट थोपरेर खुला सिमानाको चुनौती सामना गर्न नेपाललाई बाध्य बनाईरहेको छ ।

कोरोना समस्याले नेपाली जनता संकटग्रस्त भैरहेका बेला नेपाली भूमि अतिक्रमण गरेर आफ्नो नक्सामा पारेर सडक निर्माण गरी लक डाउनको समयलाईसमेत ख्याल नगरेर सडकको उद्घाटन गर्नेसम्मको काम छिमेकी देशबाट भयो । खुला सिमाना भएको छिमेकी देशबाट थोपरिएको यो संकट प्राकृतिक बिपत्ति भन्दा फरक तर अत्यन्त पीडादायी बन्न पुगेको छ । छिमेकी देशका भूभाग अतिक्रमण गर्ने यो प्रवृत्तिबाट सबै छिमेकीहरुलाई दुश्मन बनाउँदै आएको भारतले नेपालको भूभाग भए पनि आफ्नो देशको लागि सामरिक महत्वको भूभाग भएको भनेर छोड्न नसकिने जबरजस्तीको डकैती भाषा बोलिरहेको छ । ठीक यसैबेला अमेरिकाले पनि नेपाललाई आफ्नो लागि सामरिक महत्वको क्षेत्र ठहर गर्दै सैन्य गतिबिधि गर्ने अखडा बनाउने कसरत थालेको छ । एमसीसीको नाममा नेपालमा प्रबेश गर्ने अमेरिकाको चाहनाले नेपाली जनता आतंकित बनिरहेको अवस्था छ । अमेरिकाको यस्तो प्रयासलाई सफल हुन नदिन सरकार र प्रमुख प्रतिपक्षि दल बाहेक अरु सबै नेपाली जनमत बिरुद्दमा देखिएको छ । तर सरकारले सडकबाट उठिरहेको जनताको आवाजलाई अमेरिकी साम्राज्यबादको स्वर्थका खातिर राज्यसत्ताको शक्ति प्रयोग गरेर दमन गर्ने अभ्यास गरिरहेको छ ।

भारतले नेपालसंग निहुँ खोज्न थालेको धेरै भैसक्यो । नेपालको भूभाग अतिक्रमण गर्ने र बिभिन्न अड्चन राखेर नेपालको जलसम्पदा कब्जा जमाउने काममा भारतको ब्यवहार  धेरै पहिलादेखि नै नेपाल बिरुद्द र नेपालको अहितमा परिलक्षित हँुदै आएको छ । नेपालका बिकासका पूर्वाधारका रुपमा रहेका जलसम्पदाहरुमा भारतले लगभग सम्पूर्ण रुपमा कब्जा जमाई सकेको छ । नेपालको राष्ट्रिय गानको रुपमा कुनै बेला गाउने गरिन्थ्यो – ‘गण्डकी, कोशी, कर्णाली , मेची र महाकाली, लेक र बेशी ब्यूँझाउँछन् लहर लाखौं उचाली’  आज यी सबै नदिहरुमा नेपालले स्वामित्व गुमाईसकेको अवस्था छ । यत्तिमात्र नभएर अरुण तेस्रो र अन्य धेरै नदिहरु गुमाउँन हामी नेपाली बाध्य भैरहेका छौं ।

भारतले जतिसुकै हेपाहा ब्यवहार गरे पनि नेपालले केही लछार्न सक्दैन भन्ने उस्को मनोविज्ञान देखिन्छ । देशका प्राकृतिक सम्पदाको स्वामित्व दिएर खूशी बनाउन सकिने हो भने नेपालले भारतलाई धेरै दिई सकेको छ ।  तर भारतीय शासकहरुको  छिमेकी पीडक ब्यवहारमा कुनै परिवर्तन हुन सकेको पाईएन । ठूलो देशको अहंकारले  छिमेकीहरुसंग सम्बन्ध राम्रो बनाउन भारतीय शासकहरुलाई निकै समस्या भैरहेको छ ।  गोर्खा सैनिकको शक्तिमा टिकेको भारतको अहंकार अन्य छिमेकी देशहरुसंग जस्तो सहज नेपालसंग नहुने कुरामा भारतीय शासकहरुलाई स्पष्ट गराउन नेपालका तर्फबाट साहशिलो कदम आवश्यक देखिएको छ ।

भारतले  नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा सडक निर्माण गरेर सडकको उदघाटन नै गरे पछि दुई देशबीचको सम्बन्धमा तिक्तता बढिरहेकै बेला यतातिरको समयमा भारतले फेरि अर्को पीडा थोपर्ने काम गरिरहेको छ । नेपाली भूभाग लुम्बिनी र रुपन्देहीको भैरहवा क्षेत्रलाई डुबाउने गरी बर्षाको पानीको बहावलाई अवरोध पु¥याउन आफ्नो क्षेत्रमा अनधिकृत रुपमा भारतले अग्लो सडक निर्माण कार्य थालनी गरेको छ । समयमै नेपाल सरकारले प्रतिबाद नगर्ने हो भने नजिकै आईरहेको बर्षाको बाढीआतंकले त्यो क्षेत्रलाई पनि यसपटक प्रभावित तुल्याउने निश्चित छ ।

 हुन त भारतले बर्षौंदेखि यो क्षेत्रमा सडक निर्माण गर्ने प्रयास गर्दै आएको हो । नेपालतर्फबाट  सरकारले सडक निर्माण कार्यलाई सामान्य रुपमा लिंदै सामान्य पत्राचार मात्र गर्दै आएको र स्थानीय जनताबाट प्रतिरोध हुँदै आएको हो । तर भारत सरकारले नेपालतर्फको पत्राचारलाई कुनै महत्व नदिएर सडक निर्माण कार्यलाई निरन्तरता दिंदै आएको छ  । सडक निर्माण कार्य अझै सम्पन्न भएको  छैन  तर निर्माण कार्य रोक्ने प्रयास पनि भएको छैन । भारत सरकारले नेपाललाई हेपेर जिस्काउने काम गरिरहेको छ ।

 भारतीय हस्तक्षेपका बिरुद्दमा नेपालका सबै राजनीतिक पार्टीहरु र आम नेपाली जनमत एक ढिक्का हुन पुगेको अवस्था छ अहिले  । नयाँ नक्सा बनाएर त्यसलाई सम्बैधानिक बनाउने नेपाली पक्षबाट भएको प्रयासलाई रोक्न भारतले गर्नसम्म कसरत गरेको पाईयो । नक्साको सवालमा एकढिक्का हुन सकेका नेपालका राजनीतिक दलहरु अमेरिकाको सैन्य उन्मादका साथ युरेनियम उत्खनन् गरेर नेपाललाई ध्वस्त बनाउने गरी आउन खोजेको एमसीसीलाई पनि बुद्दिमत्तापूर्ण तरिकाले किनारा लगाउन जरुरी छ । अन्यथा नेपाललाई दोस्रो अफगानिस्तान बन्नबाट कसैले रोक्न सक्ने छैन ।  आगे सबैलाई चेतना भया !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here