काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको विषयमा हेप्ने आशयले अभिव्यक्ति दिएकोमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्ति निन्दनीय भएको जनाएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले आदित्यनाथले नेपालका सम्बन्धनमा दिएको अभिव्यक्ति निन्दनीय भएको जनाउदै नेपालबारे बोलेका विषयमा एक पटक सोच्न चेतावनी दिनुभएको छ ।
प्रधानमन्त्रीले नेपालको राष्ट्रियताको सन्दर्भमा नेपालमा अभूतपूर्व एकता रहेको सम्झाउँदै आदित्यनाथले बोलेको हो भने उक्त अअिव्यक्ति जायज नभएको र नेपाललाई धम्क्याउन खोजेको हो भने त्यो उचित नभएको बताए ।
‘मुख्यमन्त्रीको हिसाबले त्यस्तो बोल्नुभएको हो भने पनि नबोलिनुपथ्र्यो । बोल्नुभएको हो भने आलोच्य विषय हो, नेपाललाई धम्की दिनुभएको हो भने निन्दनीय विषय हो’ उनले भने । ‘त्यस्तो कुरालाई हामी नेपालमाथिको अवहेलनाका रुपमा बुझ्छौं । नेपाल हेपिन तयार छैैन, मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु ।’
योगीले गत बुधबार ‘नेपाल र भारत दुई देश भए पनि हाम्रो आत्मा एउटै हो । नेपालले तिब्बतको भविष्य के भएको हो भन्ने विचार गर्नुपर्छ । उसले तिब्बतको जस्तो गल्ती गर्नु हुँदैन,’ भन्नुभएको थियो ।
विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका उपाध्यक्ष रहेका योगी राजसंस्थासहित हिन्दू अधिराज्यका पक्षमा राजनीतिक लबिङ गर्दै आएकाले ओलीले प्रतिक्रियावादी चलखेल परास्त गर्न नेपालीहरु तयार रहेको चेतावनी दिनुभएको छ ।


















