खाँडिचौरभन्दा माथिको पुल बगाएको कारण प्रहरीहरु लामो बाटो भएर घटनास्थलसम्म पुग्नुपरेको थियो । घटनास्थलमा रहेका बाह्रबिसेका इन्सपेक्टर नवराज न्यौपानेका अनुसार पछिल्लो जानकारी अनुसार २ जनाको शव फेला परेको छ भने २ जना घाइते रहेका छन् । १४ जना हराइरहेका छन् । त्यस्तै, ११ घरमा पूर्णरुपमा क्षति भएको छ ।
बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ । साथै जिल्ला प्रहरी कार्यालय सिन्धुलपाल्चोकका अनुसार जम्बो र भोटेकोशी गाउँपालिकाको बञ्जी जम्प भएको स्थान नजिकै रहेको दुई स्थानमा मानवीय क्षति भएको खबर आएको छ । ठाउँठाउँमा बाटोमा क्षति भएको कारण प्रहरीलाई सो स्थानमा पुग्न कठिनाइ भइरहेको छ । क्षतिको यकिन विवरण आइनसकेको प्रहरीको धारणा छ ।



















