मुख्यतः लकडाउन खुकुलो हुनु, पिसिआर परीक्षण नै नभई रेस्क्यु फ्लाइटमार्फत विभिन्न देशबाट नेपाल भित्रिनुलगायतका कारण पनि जोखिम बढेको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमितमध्ये ९९ प्रतिशत लक्षणविहीन छन् । उनले भने, ‘केही नागरिक विदेशबाट रेस्क्यु फ्लाइटमार्फत आउँदा पिसिआर टेस्ट नै नगरी आउने गरेको पाइयो । लकडाउन खुकुलो हुँदै जाँदा पनि जोखिम बढेको हो ।’
काठमाडौं उपत्यका कोरोनाको हट स्पट बन्ने खतरा बढेको विज्ञहरुको भनाइ छ । संक्रमण देखिएका जिल्लाबाट विभिन्न भित्री बाटो हुँदै हजारौं नागरिक काठमाडौं भित्रिँदै आएका छन् । उनीहरुलाई क्वारेन्टिनमा नराखिँदा जोखिम झन् बढेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले विदेशबाट चार्टर फ्लाइटमा आइरहेका व्यक्तिलाई अनिवार्य क्वारेन्टिनमा नराखिँदा उनीहरु घरमा पुगेपछि परीक्षण गर्दा संक्रमण देखिने गरेको बताए । राजधानी दैनिक


















