काठमाडौं – नक्कली जग्गाधनी खडा गरी ३२ बिघा २ कट्ठा १७.२५ धुर जग्गा बिक्री वितरणमा सहसचिवसहित १३ जना तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव टीकाराम ज्ञवालीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उक्त घटना हुँदा ज्ञवाली नवलपरासीका प्रमुख मालपोत अधिकृत थिए ।
भूमिसुधार, मालपोत नवलपरासीका कर्मचारीसहित स्थानीय निकायबाट सिफारिस दिने कर्मचारी र स्थानीयलाई पनि भ्रष्टाचारजन्य कसुरमा संलग्न भएको प्रमाणित हुन आएकाले उनीहरूविरुद्ध सजायको मागदाबी गरिएको अख्तियारले गरेको छ ।
तत्कालीन प्रमुख मालपोत अधिकृत ज्ञवाली, भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, मालपोत अधिकृत मनोहरप्रसाद पन्थीलाई प्रतिवादी बनाइएको छ । तत्कालीन नायबसुब्बाहरू बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, कम्प्युटर अपरेटर सुवास खड्का, खरिदारहरू नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मु मगर, खगेन्द्र पराजुलीविरुद्ध अख्तिारले मुद्दा चलाएको छ ।
ज्ञवाली, कलवार, पन्थी, नायबसुब्बाद्वय श्रेष्ठ र तिवारी, कम्प्युटर अपरेटर खड्का, खरिदारद्वय चौधरी र पराजुलीलाई ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ । अख्तियारले ३ जना तत्कालीन गाविस सचिवविरुद्ध पनि मुद्दा चलाएको छ । नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहारलाई प्रतिवादी बनाएर २ वर्ष कैद सजाय माग गरिएको छ । गेरमी गाउँपालिका–५ बस्ने रविकुमार खत्रीलाई पनि प्रतिवादी बनाएको समाचार आजको अन्नपुर्ण पोस्टले छापेको छ ।


















