काठमाडौं – सरकारले विमानस्थल परिसरमा संचालित व्यवसायलाई लकडाउन अवधिभर ७५% छुट दिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड-१९ को कारण सृजित अप्ठेरो परिस्थितिमा वायुसेवा कम्पनीहरु तथा विमानस्थल परिसरमा संचालित व्यवसाय साथै नेपालभरीका विमानस्थलहरुमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने वायुयान तथा मनोरञ्जनात्मक वायुसेवाहरुलाई लकडाउन अवधिभर लाग्ने शुल्कमा ७५% छुट गरेको हो ।
आज बिहीवार संचार तथा सूचना प्रविधी मन्त्री डा. युवराज खतिवडाले मन्त्रीपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै २०७६ चैत्र १ गतेदेखि लकडाउन खुलेको मितिपछि १ (एक) महिनासम्म विसान शुल्क (Parking Fee) मा ७५ (पचहत्तर) प्रतिशतका दरले छुट हुने निर्णय गरेको जनाएका हुन् ।
आन्तरिक एवं अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र विमान कम्पनीले भाडामा लिएका कोठा, सञ्चालित पसल/कवल,रेष्टुराँ/लाउन्ज,बैंक/मनिएक्सचेञ्ज सवारी पार्किङ लगायतका सेवा दिइरहेका फर्महरुलाई मिति २०७६ चैत्र १ गतेदेखि लकडाउन खुलेको मितिपछि १ एक महिनासम्म कोठा/स्थान बहालमा ७५ (पचहत्तर) प्रतिशतका दरले छुट दिने र सो अवधिसम्म त्यस्ता फर्महरुलाई जारी हुने बिलमा विलम्ब शुल्क नलिने भएको जनाइएको छ ।


















