काठमाडौं – नेपाली कम्युनिस्ट आन्दोलनका एक अथक योद्धा बर्मन बुढाको ९० वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ ।
सामन्तवाद विरोधी नेपाली जनताको मुक्ति युद्धमा बुढा जहिले पनि अग्रमोर्चामा रहने गर्दथे । क्यान्सर पीडित बुढाको उपचारको क्रममा पाटन अस्पतालमा निधन भएपछि बुधबारै उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तय भएको छ । बुढालाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा लगायत कम्युनिस्ट विचारधारा राख्ने नेता कार्यकर्ताहरु पशुपति आर्यघाट पुगेका थिए ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख अग्नि सापकोटा, पूर्वसभामुख कृष्ण बहादुर महरा, ओनसरी घर्ती, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल, मन्त्रीहरु रामबहादुर थापा, वर्षमान पुन लगायतका नेताहरु बुढालाई अन्तिम श्रद्धान्जली दिन पशुपति आर्यघाट पुगेका हुन् ।
बुढाको पार्थिव शरीरमा अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । बुढा तत्कालीन एकता केन्द्रको तर्फबाट २०४८ सालमा रोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद बनेका थिए ।

















