भारतले लडकडाउन खोलेपछि नेपालले पनि खोल्नै पर्ने ?

78
 –राज्यलक्ष्मी शाक्य

सरकारले  चैत ११ गतेदेखि लागू गरेको लकडाउन श्रावण ६ गते मध्यरातीदेखि अन्त्य गरेको छ । देशमा  कोरोना संक्रमणको प्रकोप बढ्नेक्रम भने रोकिएको छैन । लकडाउनको अन्त्य गरिएपछि अव कोरोना संक्रमण समुदायमा फैलन सक्ने जोखिम बढेको छ  । सरकारले लकडाउन अन्त्य गरेपनि जनस्तरबाट  उच्च सतर्कता आवश्यक छ, अन्यथा सतर्कता नअपनाइए अव  घनाबस्ती भएको उपत्यकालगायतका ठाउँमा संक्रमणले व्यापकता लिने निश्चित छ ।

सरकारले श्रावण १५ देखि होटेल, ट्रेकिङ, ट्राभल र पर्वतारोहरण व्यवसाय पनि सञ्चालन गरिने जनाएको छ । त्यस्तै, स्वास्थ्य मापदण्ड पालना गरी १ भदौदेखि लामो दूरीका सार्वजनिक यातायात तथा हवाई सेवाहरु पनि  सुरु गरिने जनाइएको छ । त्यसैगरी भदौ १ देखि विद्यालय र कलेजहरुमा भर्ना रोकिएका र  परीक्षा सञ्चालन अवरुद्ध भएका सबैलाई सञ्चालन गर्न दिने निर्णय पनि सरकारले गरेको छ । तर, स्कुल–कलेजमा पठनपाठन भने तत्काल नहुने पनि जनाइएको छ ।

लकडाउन खुलाइए पनि शैक्षिक संस्थाहरू, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार तथा मनोरञ्जनका क्षेत्र, सैलुन–ब्युटिपार्लर तथा स्पा, स्विमिङ पुल, हेल्थ क्लब, समूहमा खेलिने खेलकुद, सभारभेला, धार्मिक क्षेत्र, पुस्तकालय, संग्रहालय तथा चिडियाखाना र अन्तर्राष्ट्रिय नाकाहरु भने बन्द नै रहने जनाइएको छ ।

सरकारले जारी गरेको यस्तो उर्दीले कोरोना संक्रमणको जोखिम पहिलेको भन्दा झनै बढेको अवस्थालाई स्पष्ट गर्दछ । जोखिमका बाबजुद आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि भन्दै सरकारले लकडाउन खुलाउने निर्णय गरेको पनि  खुलाशा गरिएको छ । सरकारको आर्थिक खर्च जुटाउनका लागि जनताको स्वास्थ्य माथि गम्भिर खेलवाड गरेको आरोप जनस्तर विश्लेषकहरुले लगाइरहेका छन् ।

लकडाउन अन्त्य गरे पनि स्वास्थ्यसम्बन्धी मापदण्ड कायमै रहेको र त्यसको पालना नगर्नेलाई कानुनी कारबाही गरिने भनेर सरकारका प्रवक्ता समेत रहेका   मन्त्री युवराज खतिवडाले सुनाएका छन् । स्वास्थ्य मापदण्ड पालना गराउन देशभरि प्रमुख जिल्ला अधिकारीहरुलाई जिम्मेवारी दिइएको पनि उनले जनाएका छन् । उल्लंघन गर्नेलाई उनीहरूले संक्रामक रोक तथा स्थानीय प्रशासन ऐनअनुसार कारबाही  गर्ने पनि जनाइएको छ ।

सरकारले लकडाउन अन्तः गरे लगत्तै चिकित्सकहरुले सरकारको आलोचना शुरु  गरेका छन् । लकडाउन खोल्न हतार भएको चिकित्सकहरूको भनाइ छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले उच्च सावधानी नअपनाए काठमाडौंमा पनि भारतको दिल्लीमा जस्तै संक्रमण फैलिने जोखिम रहेको जनाए । त्यसैले लकडाउन खुकुलो बनाउन आवश्यक ठानेर सरकारले आफ्नो राजश्व संकलन स्वार्थका लागि जनताको जीवनसँग खेलवाड गरेको छ । यस्तो लापर्वाहीको परिणाम के हुने हो निकै संत्रासको अवस्था छ ।

हुन त कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकाले पनि सामाजिक दूरीसहितको बन्देज क्रमशः खुला गरिरहेको छ । विभिन्न राज्यका गभर्नरले वस्तुस्थिति हेरेर निर्णय लिइरहेका छन् ।  अमेरिकाका ५० राज्यमध्ये अधिकांशमा रात्रि क्लब, बार तथा भिडभाड हुने समारोहमा मात्र रोक लगाइएको छ ।

त्यसैगरी भारतले गत असार २४ गते अर्थात ८ जुनदेखि रेस्टुरेन्ट, कार्यालय, सपिङ मल खुला गरेको छ । आन्तरिक उडान २५ मेदेखि खुला छ । बस र रेलसेवा चालू छन्  । सिक्किम, छत्तिसगढ, केरला, कर्नाटक, जम्मु–कस्मिर, महाराष्ट्र र पश्चिम बंगालका सीमित क्षेत्रमा मात्रै लकडाउन जारी रहेको छ । भारतले जस्तो गरेको त्यस्तै सिको गर्नुपर्ने नेपालका लागि बाध्यता के हो ? बुझ्न सकिएको छैन । – जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here