काठमाडौं-नक्कली सुन प्रकरणबारे अनुसन्धान गरिरहेको प्रहरीले शुक्रबार फेरि एक किलो नक्कली सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार न्युरोडमा रहेको उमेश श्रेष्ठको घरको एक कोठाबाट बाहिर सुनको जलप लगाइएको १ किलो चाँदी प्रहरीले फेला पारेको हो ।
परिसर काठमाडौंका प्रवक्ता डिएसपी राजकुमार केसीले मंगलबार नियन्त्रणमा लिएको शैलीकै जलप लगाइएको अवस्थामा १ किलो चाँदी शुक्रबार न्युरोडबाट बरामद भएको जानकारी दिए ।‘बाटामा माटो राखेर त्यसभित्र लुकाइएको अवस्थामा बाहिर जलप लगाइएको १ किलो सुन जस्तै देखिने पदार्थ नियन्त्रणमा लिइएकामा परीक्षण गर्दा चाँदी रहेको पुष्टि भयो,’ परिसर काठमाडौंका प्रवक्ता केसीले भने ।प्रहरी उच्च स्रोतका अनुसार सो पदार्थ दरबारमार्गमा कार्यरत प्रहरी जवान प्रसन्न श्रेष्ठले त्यहाँ लगेर लुकाएको आशंका गरिएको छ । तर, प्रहरीले भने कसले लगेर लुकायो भन्ने विस्तृतमा अनुसन्धानबाट खुल्ने बताएको छ । प्रहरीले घरधनी उमेश श्रेष्ठलाई भने नियन्त्रणमा लिएको छ ।यसअघि बिहीबार प्रहरीले साढे १४ किलो सुनचाँदी र आधा किलो सुन प्रकरणमा संलग्न अर्का एक जनालाई समेत न्युरोडबाट पक्राउ गरेको थियो । प्रहरीले चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिकलाई पक्राउ गरेको हो ।उनीबाटै प्रहरीले चाँदीमा सुनको जलप लगाउन निर्देशन दिने मुख्य व्यक्तिको खोजी गरिरहेको छ । प्रहरीले बिहीबार नै सुन फ्याँकेर भाग्ने तीन जनालाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको थियो भने सुन फ्याँक्न प्रयोग भएको स्कारर्पियो समेत नियन्त्रणमा लिएको राजधानी दैैनिकमा खवर छ ।



















