काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। पार्टी सम्बद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै थापाले कोरोना महामारी नियन्त्रण गर्न सरकारको भूमिका निष्प्रभावी रहेको भन्दै कोरोना महामारी, भ्रष्टाचार र धर्म परिवर्तनजस्ता विषयलाई लिएर सडकमा जान कार्यकर्ताहरुलाई आग्रह गरेका हुन्।
सिद्धान्तनिष्ठ कार्यकर्ताको बलमा मात्र पार्टीले सफलता प्राप्त गर्ने भन्दै थापाले प्रशिक्षण अभियानलाई सघन रुपमा संचालन गर्न निर्देशन दिए। नेकपा र नेपाली कांग्रेसको विकल्पको रुपमा राप्रपालाई जनताले हेरिरहेको भन्दै थापाले जनताको माझबाट जनअनुमोदित गराएर एजेण्डालाई स्थापित गरि छाड्ने दृढता व्यक्त गरे । यसै अवसरमा विभिन्न जनवर्गिय संगठनका प्रमुखहरुले आ–आफ्नो धारणा राखेका थिए भने अन्य पार्टी नेताहरुको पनि सहभागिता रहेको थियो।


















