एजेन्सी – पाकिस्तानले साउन २० गते मंगलबार देशको नयाँ राजनीतिक नक्सा जारी गरेको छ। उक्त नयाँ नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत समाेवश गरिएकाे छ ।
पाकिस्तानको मन्त्रिपरिषद बैठकले देशको नयाँ नक्सालाई पारित गरेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन्।
पाकिस्तानी सञ्चार माध्यम डनले पाकिस्तानी विदेशमन्त्री शाह महुमद कुरेशीको हवला दिँदै पाकिस्तानले पहिलो पटक पुरै कश्मीर र जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको उल्लेख गरेको छ।
कुनै समय स्वतन्त्र देश रहेको कश्मीर अहिले तीन देशको अधिनमा छ। केही भाग भारतले कब्जा गरेको छ, जसलाई पाकिस्तानले भारत अकुपाई कश्मीर भन्दै आएको छ। र भारतले गत वर्षमात्र यहाँ विशेष दर्जा खारेज गरेर दुईवटा केन्द्र शासित राज्य बनाएको छ। अर्को भाग पाकिस्तानको कब्जामा छ। जसलाई भारतले पाकिस्तान अकुपाई कश्मीर भन्छ भने पाकिस्तानले स्वतन्त्र कश्मीर भन्छ। यहाँ छुट्टै सरकार रहे पनि त्यो पाकिस्तन अधिनस्थ नै छ। अर्को भाग चीनमा पर्छ।
जसलाई अक्साई चीनको नामबाट चिनिन्छ। पाकिस्तानले नयाँ जारी गरेको नक्शानमा अक्साई चीन भने समेटिएको छैन। परम्परागत दुश्मन भारत र पाकिस्तान पाकिस्तानको यो पछिल्लो कदमसँगै यो क्षेत्रमा विवादले नयाँ रुप लिने देखिएको छ। त्यसमाथि पाकिस्तानले कहिल्यै पनि दावी नगरेको जुनागढलाईसमेत समेटेपछि भारत तनावमा परेको छ।
नेपालले पनि गएको वैशाखमा भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत समेटेर नयाँ नक्सा जारी गरेको थियो। त्यसयता भारत र नेपालको सम्बन्धमा पनि चिसोपना बढेको छ। अब पाकिस्तानले पनि नेपालको जस्तै कदम उठाएपछि भारत झन दबाबमा परेको हो। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नयाँ नक्सा जारी गर्नुलाई ऐतिहासिक दिन भनेका छन्।

















