काठमाडाैं – विवेकशील नेपाली दलको संघीय अभियान विभागले काठमाण्डौँका विभिन्न स्थानमा सचेतनामुलक अभियान तथा मास्क वितरण अभियान सम्पन्न गरेको छ । राजधानीका धेरै भिडभाड हुने ठाँउमा मास्क वितरण गर्दै कोरोनाविरुद्धको सचेतना कार्यक्रम गरेको दलकी नेतृ रजिया बानुले बताईन् ।
‘पहिलो दिन र दोस्रो दिन काठमाडौँको चाबहिल गणेश मन्दिर, तरकारी बजार वरिपरि क्षेत्रमा मास्क वितरण तथा कोरोना सँग सम्बन्धित सचेतनामूलक कार्यक्रम गरेका थियौँ’ – अभियान विभागकी उपप्रमुख समेत रहेकी नेतृ बानुले भनिन् । तेस्रो दिन लगनखेल तथा चौथो दिन आज पाटन क्षेत्रमा कार्यक्रम गरिएको थियो । मास्क वितरण सँगै ‘मास्क लगाउनुहोस् कोरोनाले चिन्ला’, ‘तरकारी लैजानुहोस्, कोरोना नलैजानुहोस्’, ‘कृष्णजीको आशिर्वाद लिनुहोस्, कोरोनाबाट बच्न मास्क लाउनुहोस्’ जस्ता सन्देश हरु उल्लेखित प्लेकार्ड प्रदर्शन समेत गरिएको थियो ।
तिन-चार जनाको संख्यामा उभिएर मास्क बाँड्ने र स्यानिटाईजर तथा साबुनपानिले हातको सफाई बारे सन्देश दिँदा उत्साहि भएर अभियानलाई निरन्तरता दिएको दलले जनाएको छ । अभियन्ताहरुले तरकारी बजारका पसलेहरुलाई समेत मास्क वितरण गर्ने र प्रयोग गर्न सन्देश दिने गरेका छन् । अत्याधिक भीडभाड हुने क्षेत्रमा मानिसहरु मास्क लगाउन बिर्सिने तथा आफन्त या पसलेसँगको संवादमा मास्क फुकाल्ने गरेकाले ती क्षेत्रहरुमा सचेतना बढाइएको विवेकशील नेपाली दलले जनाएको छ ।
महामारीको समयमा देखीएको बेला भ्रष्टचार, अनियमीतता, अब्यवस्था तथा रणनीतिक कमजोरी विरुद्ध आवाज पनि उठाउने र समाजिक उत्तरदायित्व अनुरुप समाजिक सचेतना र जागरणमा लाग्ने दलको नीति अनुरुप कार्यक्रम गरिरहेको विवेकशीलका अध्यक्ष मिलन पाण्डेले जनाउनु भयाे ।




















