‘भगवान कृष्ण’ नेपालकै हु्न् भनेर किन दावी नगर्ने ?

281

–चन्द्रप्रकाश बानियाँ

पुराण अर्थात मिथकले लोकमा भनिदै सुनिदै आएका काल्पनिक कथाहरु भन्ने अर्थ बोक्दछ । समाजमा प्रचलित काल्पनिक कथा भनेको झर्रो नेपाली अर्थमा “दन्त्य कथा” भनेको हो । हाम्रो समाजमा राजकुमार दिग्पालको कथा लोकप्रिय थियो । त्यसैलाई बोधविक्रम अधिकारीले आफ्नो भाषामा लिपिबद्ध गरे । प्रकाशित गरे । दन्त्यकथाका पात्रहरुलाई अमर बनाइदिए । नेपाली दन्त्य कथाहरूमा जसरी पात्रहरु काल्पनिक हुन्छन् त्यसैगरी उनीहरूको क्रिडाभूमि पनि काल्पनिक हुन्छ । हिन्दू पुराणका रचनाकारहरुको मूल उद्देश्य दन्त्य कथाका पात्रहरुलाई धार्मिक आइकनको रूपमा स्थापित गर्नु थियो । त्यसैले परम्परागत दन्त्यकथाहरुमा अलिकता फेरबदल गरेर तत्कालीन समयका स्थानविशेषका वास्तविक नामहरुसँग जोडेर लेखिदिए । जस्तो रामलाई अयोध्यासँग जोडे, कृष्णलाई मथुरासँग जोडे, सीतालाई जनकपुरसँग जोडिदिए । पाण्डवहरुलाई पुरानो दिल्लीसँग जोडिदिए । त्यसैले पुराणका पाठक र श्रोताहरुमा ठाउँका नामहरु वस्तविक छन् भने कथाहरू पनि सत्य नै होलान् भन्ने भ्रम पर्न जान्छ । पुराणका रचनाकारहरुले अर्को चलाकी के गरेका छन् भने अँगे्रजले भारत डोलाउने समयकाल ओल्तिरपल्तिरका राजवंशहरुको वंशावली तन्काएर निकै परसम्म पु¥याइदिए । त्यसको कारणले मानिसहरूलाई पछिल्ला राजा र राजवंशको नाम इतिहाससँग मिल्छ भने पुराणमा वर्णित तिनका पुर्खाहरूको नाम नामेसी सत्य नै होलान् भान्ने छाप पर्न गयो ।

प्रसंग राम कथाको हो । भारत त रामको जन्मभूमिलाई लिएर पछिल्लो २० वर्षदेखि आन्दोलित थियो नै यतिखेर रामको नामको ज्वरो हाम्रो प्रधानमन्त्रीलाई पनि चढेको छ । ‘संगिनीको देख्छु रहर मर्छु’ गर्नुभन्दा त्यसको विकल्प खोज्नु राम्रो हुँदो हो जस्तो लाग्छ । रामलाई छोडेर कृष्णको पुच्छर किन नसमात्ने जस्तो लाग्न थालेको छ । त्यसैले प्रधानमन्त्रीलाई एउटा नयाँ सल्लाह दिन मन लागेको छ ।

राम जस्तै कृष्ण पनि एउटा मिथक पात्र हुन् । जे जस्तो दावी गरे पनि भोलि कतै प्रमाण फेला पर्ला र आफू उल्लु ठहरिनु पर्ला भन्ने डर छैन । उसै पनि हाम्रो प्रधानमन्त्रीले इतिहास वा पुरातात्विक प्रमाणको पछि कुद्ने होइन, विशुद्ध पुराणकथनको आधारमा राम मन्दिर बनाउने हो भनेकै छन् । आफूले ऐतिहासिक पुरातात्विक प्रमाण पु¥याउन नसके पनि कृष्णको मामलामा समेत कसैले हामीलाई झूटो प्रमाणित गर्न सक्तैन । नपत्याए प्रमाणहरु हेरौंः

जसरी भारतमा बन्न थालेको राम मन्दिरको जग खन्दा जैन वा बुद्ध धर्मसंग सम्बन्धित सामग्री मात्र फेला परे, हिन्दू धर्मसँग सम्बन्धित एउटा सिक्कासम्म पनि फेला परेन त्यसैगरी कृष्णको बारेमा पुरातात्विक खोजी भएछ भने पनि कुनै प्रमाण संसारको कुनै कुनामा पनि फेला पर्ने होइन । कृष्ण कथाको द्वारका आजसम्म फेला परेको छैन । बृन्दावन, मथुरा आदि ठाउँका नामहरु अत्त्विमा छन् तर ती ठाउँहरुमा भएको उत्खननबाट प्राचीन अर्थात कृष्णकाल प्रमाणित हुने कुनै सवुद प्रमाण फेला परेको छैन । अर्थात जसरी रामको नाममा जबर्जस्ती गरिँदै छ, कृष्णको ऐतिहासिकता पनि पुष्टि नहुने भएकोले जसले उछिन्यो उही राजा भनेजस्तो अवस्था छ ।

राम कथाको आधार वाल्मिकि रामायण भएजस्तै कृष्ण कथाको एक मात्र आधार व्यासकृत महाभारत महाकाव्य हो । कृष्णलाई महानायकको रुपमा स्थापित गरेको त्यही महाकाव्यले हो । महाभारत कथालाई इतिहास प्रमाणित गर्ने अभियानमा भारतीय हिन्दू जगत पूरै असफल भएको छ । अर्थात लाख कोशिश गरे पनि त्यसको प्रमाण भेटाउन सकेको छैन । त्यसैले भारतको केन्द्रिय शिक्षाविभाग महाभारत र रामायण दुवैलाई इतिहासको पाठ्यक्रमबाट हटाउन वाध्य भएको छ र  ती दुवै कथालाई विशुद्ध महाकाव्य मानिएको छ । त्यसको अर्थ कृष्णको अस्तित्व भनेको लक्ष्मीप्रसाद देवकोटाको मुनामदन खण्डकाव्यको नायक मदनको भन्दा  फरक हो भन्न मिल्दैन । जसरी मुनामदनको आधारमा मदनको इतिहास स्थापित हुदैन त्यसैगरी महाभारत कथाका आधारमा कृष्णको भौतिक अस्तित्व प्रमाणित हुदैन ।

महाभारतको लेखनकाल समेत अन्योलको भुमरीमा छ । महाभारत कथा पाँच हजार वर्ष पुरानो हो भनेर दावी गर्ने पहिलो मानिस आर्यसमाजी धर्मका प्रवर्तक दयानन्द सरस्वती हुन् । त्यसभन्दा उता कसैले त्यसरीे कालको किटान दावी गरेको भेटिदैन । दयानन्द सरस्वतीको दावीको आधार पनि छलछाम मात्रै हो । वास्तविक वस्तुसत्य के हो भने सिन्धुघाँटी सम्यता र बुद्धकाल बीचको करीब एक हजारवर्ष अन्धकारमा छ । त्यसकालको कुनै ऐतिहासिक पुरातात्विक प्रमाण फेला परेको छैन ।  त्यही अन्धकार इतिहासकाल सरस्वतीले छोपेका हुन् । अर्थात त्यो नै वैदिक काल हो भनेर दावी गरिएको हो । कुनै तथ्य प्रमाणसहितको दावी होइन ।

भारतका धर्मधुरन्धर डा. वामनकाँडेले आफ्नो पुस्तक धर्मशास्त्रका इतिहासमा महाभारत महाकाव्यमा मनुस्मृतिबाट उद्धरण लिइएको उदाहरण प्रस्तुत गरेका छन् । यद्यपि वामनकाँडेले गीताको रचनाकाल इशापूर्व पाँचसय मानेका छन् तापनि उनले प्रस्तुत गरेको प्रमाणले मनुस्मृतिभन्दा महाभारत कान्छो रहेछ भन्ने प्रमाणित हुन्छ । मनुस्मृति पहिलो पटक सन् १९५० मा छापिएको देखिन्छ । अर्कोतिर अशोकको दशौं पुस्ताका मौर्यवंशी शासक वृहद्रथको हत्या गरेर गद्दीनसीन भएका पुष्यमित्र सुङ्गले सुङ्ग वंश स्थापना गरे र उनैले राज्य सञ्चालनको लागि मनुस्मृति लेखाएका हुन् पनि भनिन्छ । त्यो समय इशापूर्व दोश्रो शताब्दीको हो । तर त्यस कथनमा पनि अर्को एउटा छोप्नै नसकिने क्षिद्र देखिन्छ । मनुस्मृतिमा “झल्ल, मल्लश्च…” भन्ने वाक्यांश खसहरूको बारेमा उल्लेख भएको भेटिन्छ । त्यो झल्ल मल्ल नभएर “चल्ल र मल्ल” हुनुपर्छ । खसराजा नाग मल्लका सन्ततिले कहिले चल्ल लेखे कहिले मल्ल पनि लेखे । नागराजको साम्राज्य बाहौं शताब्दीमा स्थापित भएको थियो । उनले होइन, उनका सन्ततिले चल्ल र मल्ल लेख्न थालेका हुन् । त्यसरी हेर्दा मनुस्मृति तेहौैं शताब्दीपछि लेखिएको रहेछ भन्नुपर्ने हुन्छ ।

प्रमाणले महाभारत महाकाव्य मनुस्मृतिभन्दा कान्छो र मनुस्मृति खस साम्राज्यन्दा कान्छो देखिन आउँछ । कृष्णाई देवता बनाउने उनको नाममा रचिएको महाभारतको “गीता” नामको अंश हो । द्वापर युगको अन्तलाई कृष्णको जीवनकाल मान्ने हो भने महाभारत महाकाव्य उनको मृत्योपरान्त करीब ३÷४ हजार वर्षपछि लेखिएको ठहर्न आउँछ । महाभारत वेदजस्तो श्रुतिकाव्य होइन । अर्थात पुराना रचनाहरु गुरुबाट चेलाले सुनेर कण्ठाग्र गर्दै आएको श्रुतिकथनलाई लेख्य रुप दिइएको होइन । महाभारतका रचनाकार वेदव्यास हुन् भनिन्छ । वैदिक साहित्यमा तीन वटा व्यासहरु देखिन्छ्न् । एउटा वेद विन्यास गर्ने श्रीकृष्ण द्वैपायन व्यास, अर्का वेदान्त दर्शनका रचयिता वादरायण व्यास र तेश्रो महाभारत महाकाव्य लेख्ने व्यास । महाभारत र वेदान्त दर्शन श्रीकृष्ण द्वैपायनले लेखेका हुन् भन्न मिल्दैन । महाभारत र वेदान्त दर्शन पनि एउटै लेखकका हुन् भन्न सकिन्न । किनकि वेदान्त दर्शनको इश्वरीय मान्यतालाई गीताले खण्डन गर्छ । आफ्नै दर्शन खण्डित हुने गरी वादरायण व्यासले महाभारत लेखे भन्न मिल्दैन ।

कसले लेख्यो त महाभारत भन्ने प्रश्नको उत्तर खोज्ने सन्दर्भमा भारतमा प्रशस्त खोजी अनुसन्धान भएको छ  र विभिन्न कालका भिन्न आकार र विषयवस्तु रहेका महाभारत अस्तित्वमा रहेको प्रमाण फेला परेको दावी गरिन्छ । जसअनुसार पहिले वेदव्यासले ८ हजार ८ श्लोक भएको “जयनामा” नामको ग्रन्थ लेखे । वैशम्पायन नामका अर्का विद्वानले त्यसैमा १६ अजार श्लोक थपेर “भारत संहिता” भन्ने नाम दिए । त्यसमा पनि उच्चैश्रवा सेद्दि नाम गरेका कविले ७० हजार श्लोक थपेर “महाभारत” नाम दिए । अर्थात महाभारत भन्ने नाम पाउँदासम्म उक्त पुस्तकमा जम्माजम्मी ९४ हजार आठ श्लोक मात्र थिए । हाल अस्त्त्विमा रहेको महाभारतमा एक लाख श्लोकहरु छन । बाँकी पाँच हजार नौसय बयान्नब्बे श्लोक कसले कहिले थप्यो भन्ने कुरा खुल्न सकेको छैन ।

रामभन्दा कृष्ण कान्छो पुस्ताका हुन् भनेर हिन्दू धर्म ग्रन्थहरुले मानेका छन् । भारतमा कृष्णको पौराणिक कथा मात्रै छ । कृष्णको वंशावली छैन । गोपाल वंशावली बरु नेपालमा छ । गोपाल जातिका मान्छे अझै पनि चन्द्रागिरि नगरपालिकामा बसोबास गरिआएकै छन् । वंशावलीले कुरो तन्काउँदै लगेर श्रीकृष्णको चक्रसम्म पु¥याएको छ । उता दक्षिणतिर पुराणले गर्ने कुरा यता वंशावलीहरुले गर्छन् । चौबीसी राज्य पर्वतको मल्लवंशको वंशावलीमा पुस्ता र पु्र्खाको नामावली तन्काउँदै लगेर महाभारत कथाका मुख्य पात्र पाण्डवहरुका नाति “परिक्षित” संग जोडेको देखिन्छ । नेपालको राजवंश शाह र थर जात फेरेर राणा बनेका खस कुँवरहरुले चित्तौढको पुरानो वैदिक राजवंशसँग आफ्नो वंश जोड्ने प्रयत्न गरेकोे देखिन्छ । कथाकुथुङ्री जोडजाड पार्न हामी नेपाली पनि कम छैनौं । अर्थात पुराण लेख्ने परम्परा नेपालमा नभए पनि वंशावलीबाट त्यसको काम लिने गरेकै छौ । भारतीयहरुले पुराण अघि सार्छन भने हामीले वंशावलीलाई देखाएर प्रतिवाद गर्न किन नहुने ? गर्न नसकिने कुरै छैन ।

त्यसैले हाम्रा प्रधानमन्त्रधीले राम भारतलाई नै छोडिएिर कृष्णमाथि दावी ठोक्दा राम्रो होला । त्यसो गर्दा भागबन्डा पनि मिल्ने । भारतीय हिन्दू समाजको तारो बन्न पनि नपर्ने । मित्र देशसँग विवाद पनि नहुने अनुकूल परिस्थिति निर्माण गर्न सहयोग पुग्थ्यो कि ? समय भिडकी सकेको हो जस्तो लाग्दैन । अझै पनि सच्याउन सकिन्छ । साँधभाइहरुसँग किन किचलो गर्ने ? अंशबण्डा गरे भैहाल्यो । बडे भाईलाई राम छोटेभाइलाई कृष्ण गर्नु बेस हुन्छ होला । ’हाम्रो गाउँमा एकजना धार्मिक मानिस थिए । उनले विहान बेलुकै पूजापाठ गर्थे । शंख घन्ट बजाउँथे । उनको मृत्युपछि छोराहरु छुट्टिभिन्न भए । बाबुको पालाको पूजापाठको परम्परा पनि टुट्यो । त्यसैले दुई भाइले अंश गर्दा  शंख एक भाइले घन्ट अर्को भाइले लिएर आआफ्ना बैठककक्षमा सोपीस बनाएर राखेका छन रे !  राम्रो कुरा हाम्रा प्रधानमन्त्रीले अरुबाट सिक्दा के फरक पर्छ र ? – जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here