काठमाडाैं – राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यकर्मीहरूमाथि दुर्व्यवहार नगर्न आग्रह गरेको छ।
काठमाडौं, चितवनलगायत ठाउँमा कोरोना संक्रमितका उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि छिमेकी तथा टोलवासीहरूबाट भएको धम्की र अमानवीय व्यवहारका घटनाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोजका प्रवक्ता सहसचिव बेद भट्टराईले आज प्रेस विज्ञप्ति निकालेर निषेधाज्ञाको आयोगले अनुगमन गरिरहेको उल्लेख गरेका छन्।
जनस्वास्थ्य संकटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरूमाथि नै अभद्र तथा अमानवीय व्यवहार प्रदर्शन हुनु दु:खद रहेको आयोगको भनाइ छ।
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्न सम्लग्नहरूलाई कारवाही गर्न आयोगले स्थानीय प्रशासनलाई आग्रह पनि गरेको छ। यस्ता घटना दोहोरिन नदिने सुनिश्चितताका लागि आयोगले सरकारलाई पनि आग्रह गरेको छ।


















