प्रधानमन्त्री ओली हुनेबित्तिकै झापाबासीले त झन् आफ्नै ठाउँले प्रधानमन्त्री पाएको भन्दै सिंगो झापाको विकासले मुहार फेर्ने अपेक्षा राखेका थिए । तर, झापाबासीले राखेको आशा ओलीको यो मध्य समय बित्दासम्म निराशामै सीमित भएको छ । प्रधानमन्त्री ओलीका छिमेकीमात्र हैनन्, उहाँका नातागोता र आफन्तलेसमेत नाता भएर गर्व गर्नु सिवाय विकासको नाममा भूत्लोभाङ नभएको अनुभव सुनाएका छन् । बरु, उल्टै आफन्त र नातागोताको नाताले हालेको मतसमेत खेर गएको गुनासो गरेका छन् ।
प्रधानमन्त्री बनेसँगै देश र जनताको मुहार फेर्नुको सट्टा पद र प्रतिष्ठा जोगाउन उद्धत रहेको झापाबासीको आरोप छ । ओलीबाट स्थानीय जनतामात्र हैन, धेरैले केही हुन्छ भन्ने आश गरेका थिए । तर, त्यस्तो देखिएन । गाउँका बाटाघाटा हिलाम्मे छन् । सडक भत्किएका भत्किएकै छन् । प्रधानमन्त्री आउँदा सुनाएको समस्या पनि नसुनेझैं गरेको उनीहरुको धारणा छ । पहिलेदेखि नै हेलचेक्र्याइँ, खेलाची र लापरबाहीमा हुर्किनुभएका उहाँले विकासमा पनि खेलाची र हेलचेक्र्याइँ गरेको झापाबासीको आरोप छ । भद्रपुर नगरपालिका–१, महेशपुरबासीले त झन् आफ्नो घर गाउँको विकासका लागि प्रधानमन्त्री ओलीले केही गर्न नसकेको जनाएका छन् । आफ्नै ठाउँमा समृद्धि र विकास नहुँदा अन्यत्रको अवस्था त झन् के होला भन्दै उनीहरुले प्रश्न गरेका छन् । आफ्नो ठाउँको विकास गरिदिए हुन्थ्यो भन्ने सोचेका उनीहरुलाई आफ्नो ठाउँको प्रधानमन्त्री भएको भन्ने गर्व गरेरमात्र केही नहुने रहेछ भन्ने लागेको छ ।
झापा क्षेत्र नम्बर-१ अन्तर्गतको भद्रपुर नगरपालिका-१, महेशपुरमा ओलीको निवास छ । जहाँ ओलीका बुवा मोहनप्रसाद ओलीको बसोबास छ । तर, ओलीले आफ्नै घर भएको ठाउँमा समेत विकास गर्नुसक्नु त भएन नै, विकास हुन्छ भनेर आश्वासन पाएका धेरै महेशपुरबासीहरुले पनि ओलीबाट चित्त दुखाएका छन् । त्यसकारण प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री ओलीले स्थानीयस्तरको विकासलाईसमेत प्राथमिकतामा राख्दै जनताका बाचा पूरा गर्नपट्टि लाग्नुपर्ने देखिन्छ । नत्र अबको आधा कार्यकाल पनि यसरी नै खेर जाने देखिन्छ ।

















