शासकहरूको स्वार्थमा नेवार समुदायको जात बिभाजन

359
– रिदेन महर्जन

नेपाली समाजमा बुद्धकालीन समाजदेखि लिएर मल्लकालमा जयस्थिति भन्दाका अगाडिको समयसम्ममा पनि यहाँका विविध जातजातिहरू खस, दसनामी, ठकुरी लगायत आदिबासी, जनजाति लगायत अन्य जातिहरूमा जातीय छुवाछुत तथा भेदभावको चलन थिएन । बरु मानवता, समानता, एकआपसमा सद्भाव तथा एकता कायम रहेको थियो।

नेपालमा जातीय छुवाछुतको प्रचलन राजा जयस्थिति मल्लले आफ्नो शासन सत्ता टिकाउनका लागि समाजसुधारका बहानामा जब भारतबाट ब्राम्हण पुरोहितहरू रघुनाथ झा, रामनाथ झा, कीर्तिनाथ उपाथ्याय, महिनाथ भट्ट आदि विद्वानहरू झिकाई मनुस्मृति र वर्णमालामा आधारित समाजको स्थापनाका लागि नेपालमा हुँदै नभएको समाजमा ४ जात ३६ वर्णमा विभाजन गरी श्रमको विभाजन गर्ने नीति लागू गरे।

तात्कालीन समयमा समृद्ध उपत्यकाबासीलाई शासन गर्नका लागि जातीय छुवाछुत नै नभएको , समाजमा कामका आधारमा मेलमिलाप र ब्यवहार भइरहेको समृद्ध समुदाय मध्ये एक नेवार समुदायलाई साम, दाम, दण्ड, भेदको नीति लागू  गरी जवजस्ती कानुन बसाल्ने काम गरेको इतिहासमा लेखिएको पाईन्छ ।

नेवार शब्द अर्थको उत्पत्ति पाँच वटा पर्वतबाट नामबाट उपत्यकाका बासिन्दाहरुलाइ  ‘नेवार’ भन्ने चलन भन्ने शुरु भयो भन्ने पुराना बासिन्दाहरुको धारणा रहेको छ ।  मंगोल  भाषामा पाँचवटा पर्वतलाई “ङपार” भनिन्छ ।  यही  ङपारका  बासिन्दाहरुलाई  सोही नाउको  अप्रभंश भई ङवार भई   ‘नेवार’  भएको मान्यता रहेको छ । यी पाँच पर्वतहरुमा सिपुच्व, साङ्गाच्व, फुच्व, धिलाच्व व जामाच्व) मा  उपत्यकामा  आदिकालदेखि बसोबास  गर्दै आएको बासिन्दाहरुलाई ‘नेवाः’ भनिएको हो । नेवाः  शब्दले नेपालको एउटा मूलबासी भाषिक समुदायलाई जनाउँदछ भने मूलथलो काठमाडौं उपत्यका हो।

नेवाः कुनै जात वा जाति वा जनजाति वा नश्ल वा धर्म विशेष होईन । बरू एउटा भाषिक समुदाय पनि हो, नेपालवासी (अहिलेको काठमाडौं उपत्यका) को साझा संस्कृति हो।  यस जातिभित्र कयौँ मूल जातिहरू छन (आदिबासी, किराँत, कन्याकुब्ज, बङ्गाली, राजस्थानी, आसामी, तिब्बती, मैथिली, आदि)  रहनुका साथै  सनातन धर्म अन्तर्गतका धेरै सम्प्रदायहरू छन ( (शैव, शाक्त, तान्त्र, वैदिक, वज्रयान, महायान, नाथ, वैश्नव, आदि) । नेवाः भित्र ४ जात (ब्राह्मण, क्षत्रीय, वैश्य, शुद्र) र यस भित्र थुप्रै उपजातहरू रहेका छन (ज्यापू, श्रेष्ठ, क्षत्रीय, गुभाजू, उराय, सायमी, ब्राह्मण, नाय, गथु, भा, द्यला, आदि)  साथै  नेवाः भित्र मूलतः ३ नस्ल छन – आर्य, द्रविड र मंगोल रहेकाे छ ।

शासकहरूका स्वार्थका लागि पेशाका आधारमा जातको बिभाजन भएको भए पनि नेवाः समुदाय साँस्कृतिक रूपले निकै सम्पन्न जाति हो। जुनबेला ठूलो–सानो जात र धनी–गरीबबीच विभेद थिएन । त्यसबखत बरु एक जातिबीच अन्य जातिमा बुद्ध धर्मको प्रभावका कारण नेपालीहरू बीच दलित र गैरदलित बीच भेदभाव रहित समता थियो। जब नेपाल भारतीय सनातनीहिन्दु धर्ममा आधारित ब्राह्मण, बैश्य, क्षेत्री र शुद्र तथा चार जात छत्तीस वर्णको अवधारणा नेपालमा भित्रियो, त्यहीबखत साझा फुलबारीको नारा लगाएर मल्लकालमा राजालाई विष्णु भगवानका अवतारको रूपमा मान्नु पर्ने चलन चलाईएको थियो। जसअनुसार एक जातले अर्को जातसँग विवाह गर्न नपाउने, श्रमकै आधारमा जुन जाति हो त्यही जातिसँगमात्र विवाह गर्नु पर्ने लगायतका विविध नियम कानुनहरू लागू गरिए । अझैसम्म हाम्राे नेपालीमा समेत यथावत रहेकाेले यस्ताे परम्परा छाेड्न सकेकाे छैन् । तैपनि शिक्षित  समाजमा भने  केही मात्रामा  परिवर्तन  भएकाे छ ।

नेवार समाजमा दया, माया, करुणा तथा हार गुहार र सहयोगको भाव पाईन्छ । पुर्खाले सिकाएको सभ्य समाज हो नेवाः । जव उपत्यकामा लिच्छिवी, मल्ल र शाह राजाहरूको शासनका साथै रूपैयाको चलन शुरु भयो, त्यहीबेलादेखि समाजमा धनी र गरिब बीचको खाडल शुरु भएको वरिष्ठ संस्कृितविद् विपेन्द्र महर्जनको भनाइ छ ।

अहिलेसम्म कायम भएको विभिन्न जातजातिबीच भइरहेको जातीय भेदभावको भावना वर्गीय असमानता नै प्रमुख कारण हो भन्ने कुरामा असहमत हुन सकिन्न । जवसम्म समाजमा वर्गीय असमानताले जटिलता उब्जाउँछ । आपसमा गर्ने व्यवहारमा फरक—फरक हुने गर्दछ । धनी र गरिबको बिचमा भएको खाडल पुरा नभए सम्म जातीय भेदभाव पनि रहिरहने छ । आर्थिक सम्पन्नता र बिपन्नताबीचको बर्गीय बिभेदका सामू जातीय बिभेद गौण हो। बर्गीय खाडल पुरिएर जाने हो भने समय र परिस्थिति अनुसार जातभात र छुवाछुतका भावनाहरू सबै अन्त्य हुदैँ जानेछन्। तर एकै पटक अन्त्य गर्न खोजे दुर्घटना पनि हुन सक्छ । नेवाः समुदाय सहनशील र सहयोगी छ तर बिद्रोही पनि छ । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here