काठमाडौं – उपत्यका नगरपालिका मेयर फोरमले १५ दिन कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडा बनाउनु पर्ने माग गरेको छ । मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू आदेश जारी गर्न सुझाव दिएको जनाए ।
कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने पनि उनले जनाए । कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्ने तर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको पनि उनले जनाए । त्यसका लागि आफू बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुने पनि श्रेष्ठले जनाए ।
उपत्यकामा भदौ तीन गते मध्यरात देखि निषेधाज्ञा जारी भएको थियो । जसको समय आज बुधबार मध्यरात देखि सकिदै छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई यथावत राख्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा आज निर्णय गर्दैछ ।


















