विश्व कीतिमानी साहित्यकार सुरेन्द्रकाे गीति चलचित्र ‘भाग्य’ चर्चामा

42

काठमाडौं । यति बेला एउटा नेपाल चलचित्र चर्चामा छ । अघिल्लो साता काठमाडौंमा आयोजित एउटा महोत्सवमा सर्वाधिक अवार्ड जित्न सफल भएपछि नेपालको दोस्रो गीति चलचित्र ‘भाग्य’ चर्चामा आएको हो । नेपाल–अफ्रिका फिल्म अवार्डमा यसले सर्वाधिक पाँच वटा अवाड बाजि मार्न सफल भएकाे छ ।

यसरी जन्मियो ?

‘भाग्य’ कृतिको रुपमा तयार भएपछि गीति नाटकको रूपमा गीतकार डा.कृष्णहरी बरालले २०६९ भदौ ९ गते लोकार्पण गरेका थिए । डा.  विन्दु शर्माले लोकार्पण समारोहमा उक्त पुस्तकका बारेमा समालोचना गरेका थिए ।

गीति नाटक ‘भाग्य’ मा के छ ?

साहित्यकार अमरका अनुसार ‘भाग्य’ गीति कविता नाटक भित्र गरिबीको पीडा समेटिएको छ । दुःख र सुख, हाँसो, खुशी, यौवनकालको चञ्चलपना, साथ दिने साथी साथमा नहुँदा अरुले दिने दुःख–सुखलाई साथी बनाइएको छ । कथाभित्र जन्म र मृत्युको बारेमा मन दुखाएर हुन्न, समाजमा दुःख होस् कि सुख, हिम्मत गरेर बाँंच्नु पर्छ भन्ने ज्ञान गीतको माध्यमबाट दिइएको छ ।

कलिलो उमेरमा आफू खुशी भागेर हैन हिम्मत गरेर आमा-बुबासँग कुराकानी अनि छलफल गरेर मात्रै विवाह बन्धनमा बाँधिनु पर्छ जस्ता जानकारीमुलक कथाहरु समेटिएको छ ।

गीति चलचित्रको परिकल्पना

उक्त कृति भित्र समावेश विषयवस्तुमा आधारित भएर साहित्सकार सुरेन्द्र महर्जन अमरले नै यसलाई गीति चलचित्रको स्वरुप दिने योजना बनाएका थिए । त्यसका लागि उनले विभिन्न निर्देशकहरुसंग छलफलसमेत गरेका थिए । अन्ततः यस चलचित्रका लागि अनुभवी , मेहनती तथा आफ्नो कृति पनि अमर रहिरहने गरि निर्देशन गर्ने, आफ्नो सल्लाह मान्ने निर्देशकको निमित्त महर्जनले निर्देशक रोशन कुमारलाई अनुबन्ध गरेका थिए ।

संगीतकार राम कार्कीको एकल संगीतमा सबै गीत रेकर्डिङ भएपछि मात्र यो फिल्मको छायांकन प्रारम्भ गरियो । फिल्मको छायांकन सम्पन्न भएपछि संगीतकार सूर्यकमल राईको संगीतमा फिल्मको शीर्ष गीतमा तयार पारियो ।

चलचित्रमा के छ ?

निर्देशक रोशन कुमारका अनुसार भाग्य गीति कवितामा समावेश गरिएका विषयवस्तु नै यस चलचित्रमा समावेश गरिएको छ । चलचित्रको थालनी नै गीतबाटै हुन्छ भने यसको समापन पनि गीतको माध्यमबाट गरिएको कुराकानीसहितको सम्वादबाटै हुन्छ ।

निर्देशक रोशन कुमारका अनुसार नेपालमा अहिलेसम्म नेपाली कथानक गीति चलचित्र डा.भोला रिजालका शब्दहरुको ‘गौँथली’ पहिलो गीति चलचित्र हो भने ‘भाग्य’ नेपाली इतिहासकै दोश्रो गीति चलचित्र बन्न सफल भएको छ ।

‘भाग्य’ का गीतहरुमा दिना थामी, रमण थामी, राम कार्की, शान्ता कार्की, रानु कार्की, सुरेन्द्र महर्जन, सुर्य कमल राई, तृप्ती खड्का आदि गायक–गायिकाको स्वर सुन्न सकिन्छ । यस चलचित्र २०७६ साल जेठ १ गते केन्द्रिय चलचित्र जाँचपास समितिबाट पास भएको थियो ।

जय मातृभूमि सिनेमा एण्ड क्रियशन प्रालिको प्रस्तुतिमा दि लाइफ एक्सप्रेस मुभी मेकर्सले निर्माण गरेको ‘भाग्य’ को प्रदर्शनीको तयारी गर्दागर्दै संसारभरी कोरोनाको महामारी चलेपछि यसको प्रदर्शनीको तयारी समेत रोकिएको निर्देशक रोशन कुमार जानकारी गराए ।

करिब तीन वर्ष थन्किएको यो फिल्म अब भने महोत्सवहरुमार्फत सार्वजनिक हुन थालेको छ । अन्तर्राष्ट्रियस्टरको इन्डस भ्याली फिल्म फेस्टिवल २०२२ मा स्पेशल स्क्रिन भएर एउटा अवार्ड पाउन सफल भएको यस चलचित्रले भरखरै काठमाडौंमा सम्पन्न नेपाल–अफ्रिका फिल्म फेस्टिवल २०२३ मा पाँच वटा अवार्ड जितेर थप सफलता हासिल गरेको छ ।

चलचित्रबाट निर्मात्री सरिता महर्जनले उत्कृष्ट चलचित्रको अवार्ड ग्रहण गरिन् भने अभिनेत्रीमा निता ढुंगाना, अभिनेतामा एसराज गराच, चरित्र अभिनेतामा सुनिल कटुवाल, निर्देशनमा रोशन कुमार गरी पाँच वटा अवार्ड पाएर सर्वाधिक अवार्ड पाउने चलचित्र बन्न सफल भएको हो ।

यस चलचित्रमा एसराज गराच, नीता ढुंगाना, सुनिल कटुवाल, अदिती श्रेष्ठ, पूर्णिमा लामा, विशाल केसी, सानु ताम्राकार, प्रकाश श्रेष्ठ, कृष्ण भट्टराई, ईश्वर फूयाल, निजल लामा, आयूषा श्रेष्ठ, सुरेन्द्र महर्जन अमर, राजु श्रेष्ठ, सूर्य राई दनुवार, शंकर घतानी, रमेश एकल दर्नाल, नरेन्द्र भट्टराई, विष्णु केसी, असिम शेर्पा, अतित लिम्बु, सुरेन्द्र अमात्य, जीवन शाही, अशोक रोक्का, मनिषा श्रेष्ठ, तुलषा कटुवाल, चेकु लामा, मनिषा श्रेष्ठ, रोशन कुमार तथा बाल कलाकार अनुष्का खड्काले अभिनय गरेका छन् ।

रामेस्वर कार्कीको छायांकन रहेको यो फिल्ममा एडिट एडभाइजर चन्दन दत्त कोइरालाको रहेका छन् । रेड स्टुडियोमा यो फिल्मको प्राविधिक कार्य गरिएको हो ।

कसरी भयो अब्बल ?

निर्देशक रोशन कुमारका अनुसार चलचित्र महोत्सवमा सर्वाधिक अवार्ड पाउनुमा ‘भाग्य’ मा गरिएको नयाँ प्रयोग अनि वार्तालाप नभै गीतबाट अभिनय गर्नु र दर्शक स्रोतालाई मनोरञ्जन दिनु मुख्य कारण रहेको छ । मुख्यत भाग्यले नेपालको मौलिक कथा, लोक–संस्कृती तथा तत्कालीन परिवेशलाई जिवन्त पर्दामा उतार्न सफल भएको उनको धारणा छ ।

चलचित्र हेर्ने दर्शकको प्रतिक्रिया अनुसार अहिलेसम्म नै यस्तो गीति चलचित्र नबनेको तथा भविष्यमा पनि यस्तो चलचित्र बन्न गाह्रो हुनेछ । संगीतकारको संगीत, लेखकको लेखन शैली, निर्देशकको निर्देशन, कलाकारहरूको उत्कृष्ट अभिनय र फिल्ममा जोडिएका सम्पूर्ण व्यक्तिहरूको सहयोग अमूल्य रहेको निर्देशक रोशन कुमार जनाउनु भयाे । यस चलचित्रकाे शुभ मुहुर्त २०७३ साउन ३२ गते गरिएको थियो ।

के भन्छन् साहित्यकार अमर ?

विश्व कीतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले कविता, गीत, हाइकु, कथा, लघुकथा, मुक्तक, उपन्यास आदि लेख्दा त्यति गाह्रो नभएको तर गीतबाट नाटक कृति बनाउँदा धेरै मुस्किल भएको बताउँछन् ।

दुई दशकभन्दा बढी समय खर्चेर बनाएको गीति नाटक कालान्तरमा गीति कथानक चलचित्र ‘भाग्य’ को स्वरुप बनाउन निर्देशक रोशन कुमार श्रेष्ठको योगदान पनि सम्पूर्ण सिने क्षेत्रको लागि कोशेढुङा सावित भएको चलचित्रका निर्मातासमेत रहेका महर्जनको धारणा छ ।

सुटिङ सम्पन्न भएको तीन वर्षपछि मात्रै सार्वजनिक प्रदर्शनीको तयारी रहेको यस चलचित्र त्यसअघि विभिन्न चलचित्रकर्मी, सञ्चारकर्मीहरुका लागि विशेष शो आयोजना गर्ने तयारी भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here