कोरोना निको भएपछि गोठको बास

20

बागमती – हेटौंडाबाट घर गएका राक्सिराङ–२ सुनारिसौराका तीन जना बालिकालाई स्थानीयले गोठको क्वारेन्टाइनमा राखेका छन्। हेटौंडामा पीसीआर टेस्ट गर्दा तीनै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरू एक साताअघि घर गएका थिए। ११ र १२ वर्षका बालिकालाई कोरोना सार्न सक्ने भन्दै उनीहरूलाई घरदेखि आधा किमि टाढाको गोठमा राखिएको हो।

कोरोना पोजिटिभ देखिएका उनीहरूकी दिदी कोरोना जितेर आइसोलेसनबाट फर्किसकेकी छन्। उनी हेटौंडामै छिन्। ‘हाम्रो रिपोर्ट नेगोटिभ आएको २१ दिनपछि गाउँ आएका हौं तर हामीलाई घरमा बस्न दिइएन’, ११ वर्षीया स्किन मोक्तानले भनिन्, ‘घरमै सुरक्षित ढंगले बस्छौं भन्दा कोेरोना सार्नसक्ने भन्दै हामीलाई गोठमा राखिएको छ।’ दिदीलाई आइसोलेसन वार्डमा राखेपछि उनीहरू होम क्वारेन्टाइनमा बसेका थिए। ‘दिदीलाई कोरोना पोजिटिभ देखिएको आठ दिनपछि हाम्रो पीसीआर टेस्ट गरेका थियौं’, स्किन मोक्ताने भनिन्, ‘रिपोर्ट नेगेटिभ आउनेबित्तिकै हामी घर आउन चाहेका थियौं तर गाउँलेले परिवारमा दिएको दबाबका कारण तत्कालै घर आउन सकेनौं।’

गोठमा बस्दा असुरक्षित महसुस भएको १२ वर्षीया स्वस्तिका दोङले दुःखेसो पोखिन्। ‘हामीलाई खाना पुर्‍याउन आउने आमाबुवालाई पनि लसपस नगर भन्दै गाउँलेले गाली गर्छन्’, उनले भनिन, ‘हामीले कुनै गलत काम गरेको जस्तो दबाब भइरहेको छ।’ कोरोना रिपोर्ट नेगेटिभ आएर घर फर्कंदासमेत गाउँघरमा अपमानित र फरक व्यवहार हुँदा दुःख लागेको १२ वर्षीया सुशीला स्याङ्बोले बताइन्। ‘रात परेपछि असुरक्षित महसुस हुन्छ’, उनले भनिन्, ‘आज गोठमा बसेको सात दिन भयो, अझै कति बस्नुपर्ने हो।’

मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का वडाध्यक्ष सूर्यबहादुर मोक्तानले वडामा क्वारेन्टाइन नभएकाले गोठमा राख्नु परेको बताए। ‘उनीहरूलाई गाउँमा ल्याउन गाउँलेले मानिरहेका थिएनन् तर क्वारेन्टाइन राख्न मिल्ने घर वडामा नभएकाले गोठमा राखिएको हो।’

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले कोरोना नेगेटिभ देखिएकाले उनीहरूलाई गाउँमा ल्याइएको बताए। विभेद गर्नेलाई कानुनी कारबाही गरिने उनको भनाइ छ। पालिकाबाहिरबाट आउनेलाई राक्सिराङ–३ स्थित सूर्योदय माविमा बनाइएको क्वारेन्टाइनमा राख्ने गरिएको छ।

पानी र नुन किन्न पनि दिइएन

दोलखाको भीमेश्वर नगरपालिका–२, फूलपाकी पङ्जु तामाङले उच्च मनोबलका कारण अन्ततः कोरोना भाइरसलाई परास्त गरिन्। तर समाजमा विकसित भएको भेदभाव र दुराशय हटाउन भने धेरै कठिन भइरहेको उनी बताउँछिन्। भदौ ६ गते संक्रमण पुष्टि भएर नौ दिनपछि कोरोना जितेर घर फर्केकी उनी कोरोना लागेको पुष्टि भएयता हरेक दिन गाउँ, समाजले आफ्नो परिवारलाई गरेको दुव्र्यवहारले सताउने गरेको बताउँछिन्। उनले भनिन्, ‘मेरी आमालाई धारामा पानी थाप्न र पसलमा नुन किन्नसमेत दिइएन।’ घरका परिवार बाटोमा हिँड्दा गाउँले टाढै रोकिनेदेखि फरक्क फर्केर अन्तै जानेसम्मका घटना बेहोरेको उनको दुःखेसो छ। यो खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here