निवर्तमान प्रधानमन्त्री सिन्जे आबेको अति निकटस्थ पात्रका रुपमा रहेका ७१ वर्षीय सुगालाई धेरैले भावी प्रधानमन्त्रीका रुपमा हेर्न थालिसकेका छन् । सुगाले आबे नेतृत्वको सरकारमा सरकारको मुख्य प्रवक्ता र मन्त्रिपरिषद्को मुख्य सचिवका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।
उनले आफुले सबैभन्दा बढी प्राथमिकता कोरोनाविरुद्धको लडाईमा दिने र जापानी अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने बताएका छन् । त्यसका लागि सवैको तर्फबाट सहयोग प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरे । निवर्तमान प्रधानमन्त्री आवेले केहीदिन अगाडि अस्वस्थताको कारण देखाउँदै प्रधानमन्त्री पद त्यागको घोषणा गरेका थिए ।
उनी शुरुमा सन् २००६ देखि २००७ सम्म पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यतिबेला पनि अस्वस्थतालाई कारण देखाउँदै पद त्याग गरेका आबे स्वास्थ्यमा सुधार आएपछि सन् २०१२ मा फेरी प्रधानमन्त्रीमा निर्वाचत भएका थिए । त्यसपछि केही दिन अगाडिसम्म उनी लगातार प्रधानमन्त्री भएका थिए ।
उनी जापानमा सवैभन्दा लामोसमयसम्म प्रधानमन्त्री बनेको नेताका रुपमा रहेका छन् । उनको कार्यकाल अझै झण्डै एक वर्ष बाँकी नै थियो । उनले सरकारको नेतृत्व गरेका बेलामा सुगाले अति निकट भएर उनीसँग काम गरेका थिए ।
जापानमा अहिलेपनि आबेलाई अति लोकप्रिय नेताका रुपमा लिइने र पार्टीभित्र पनि उनको प्रभाव अत्यधिक धेरै भएकाले उनले अगाडि सारेको व्यक्ति नै प्रधानमन्त्री हुने देखिएको छ । उनले अप्रत्यक्ष रुपमा अगाडि सारेकै कारणले सुगालाई सोमबार पार्टी प्रमुखमा निर्वाचित गरिएको जनाइएकाे छ ।
















