काठमाडौं- चौतारी नेपालले मास्क बैंकको स्थापना गरेको छ। मास्क बैंकको स्थापना गर्दै चौतारी नेपालले २० जना स्वास्थ्यकर्मी तथा पत्रकारलाई सेनिटाईजर, ग्लब्स, एन ९५ मास्क, सर्जिकल मास्क, हेड कभर, फेस सिल्ड तथा शुज कभर लगायत एक/एक थान स्वाथ्य सामाग्री बितरण गदै उद्घाटन गरेको छ। संस्थाले ५० जना सुरक्षाकर्मीलाई सर्जिकल मास्क समेत वितरण गरेको छ।
मास्क बैंकको उद्घाटन समारोह गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले कोरोना भाइरसको महामारीको अहिलेको अवस्थामा स्थापना गरिएको मास्क बैंकले कोभिड नियन्त्रणमा लागि सहयोग पुग्ने जनाए ।
मन्त्री पोखरेलले पछिल्लो समय सामाजिक सञ्जाल तथा संचारमाध्यममा कोरोना भाइरसलाई केहि हैन भन्ने गलत सूचना संप्रेषण गर्ने क्रम बढेको जनाउँदै यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। लकडाउन खुलेको भए पनि कोरोनाको जोखिम कायमै रहेको र संक्रमण झनै फैलन सक्ने भन्दै यस्तो अवस्थामा सबैजना थप सजग र सुरक्षित हुनु पर्ने उनले जनाए ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएत कोरोना भाईरस संक्रमणको जोखिम न्युनिकरणका लागी अग्रपंक्तीमा रहेर सेवा प्रदान गर्दै आएका व्यक्तीहरुलाई सुरक्षा सामाग्रीको अभाव हुन नदिने उद्देश्य सहित स्थापना गरिएको जनाइएकाे छ । मास्क बैंकमा विभिन्न व्यक्ति तथा संस्थाले मास्क लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
चौतारी नेपालका डाक्टर हुलास अग्रवालले मास्क बैंकलाई डोकानिया ब्रदर्शबाट १ हजार थान, शान्ता मेडिकलबाट १ हजार थान, रत्न गृहबाट ५ सय थान र अन्य संस्था र व्यक्तिबाट गरी ४ हजार थान सर्जिकल मास्क सहयोग प्राप्त भएको ले जानकारी दिए।
कोरोना भाइरसको जोखिम न्युनिकरण गर्ने उद्देश्य सहित देशका विभिन्न स्थानहरुमा निशुल्क रुपमा स्वास्थ्य सामाग्री वितरण गर्दै आएको छ। कोभिड १९ मात्रै नभएर अन्य आउने थुप्रै विपदमा पनि चौतारी नेपालले काम गरिरहेको अग्रवालले जनाए।


















