निशा तामाङ
शीर्ष पंक्तिका शब्दहरु मैले नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले एक अन्तरवार्ताका क्रममा दिनुभएको अभिव्यक्तिबाट लिएकी हुँ । नेता रिजालले भारतीय मिडियामा दिनुभएको यो जवाफले अहिले सामाजिक संजाल भाइरल भइरहेको छ । उहाँले प्रतिप्रश्न स्वरुप दिनुभएको एक जवाफ मात्र नभइ सबै नेपालीलाई सोचमग्न बनाएको छ । सिमा विवाद र राष्ट्रवादी विचारबारे चर्चा परिचर्चा हुन थालेको छ । यस्तै सिमा विवादमा नायिका मनिषा कोइरालाले दिनुभएको प्रतिक्रियाले पनि देश र राष्ट्रियताका सवालमा सबै एकजुट हुनुपर्ने सन्देश दिएको छ भने छिमेकीलाई हेप्ने भारतीयहरुलाई पनि एककिसिमको सबक समेत भएको छ । उनले भारतमा आफ्नो जीवनयापन गरेपनि राष्ट्रियताको सवालमा आफ्नो दह्रो अडान देखाएकी छिन् । उन्ले जन्मदेशप्रति आफ्नो कर्तब्य देखाएकी छिन् । उनको राष्ट्रप्रेम प्रति सबै नागरिक नतमस्तक भएका छन् । अझ बढी नेपाली महिलाको यो साहसिक कदमले नेपाली महिलाहरुको सम्मान बढाएको छ भन्दा फरक नपर्ला ।
सिमा विवाद चर्किएसँगै सरकारको तीव्र आलोचना भएको थियो । दबावस्वरूप सरकारले लिएको पछिल्लो कदमको भने सर्वत्र तारिफ गरिएको छ । देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निशर्त सबैको सहमति रहेको देखिएको छ ।
कोरोना भाइरसको महामारीको अवस्थामा देशभर लकडाउन गरिएको छ । लकडाउनले जनजीवन प्रभावित बन्दै गएको छ । सर्वसाधारण जनताको अवस्था दयनीय बन्दै गएको छ । यस्तो अवस्थामा पनि नेपाली जनतामा देशप्रेम अगाध देखिएको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेक हाम्रै हो भन्ने नारा देशभर घन्किरहेको छ । सिमा कब्जाको विरोधमा जनता सडकमा समेत उत्रिन तयार भइरहेका छन् ।
सिमा अतिक्रमणकै बारेमा डा. रिजालले नेपाल र भारतका वीचमा उत्पन्न विवादबारे भारतीय सञ्चारमाध्यम समक्ष दिएको अन्तरवार्ताले नेपालमा सिमानाका सवालमा सब एकजुट भएको सन्देश समेत दिएको छ । अहिले सिमा विवादमा उठिरहेको विषयमा सत्तासीन दललाई विपक्षी दलको समेत समर्थन रहेको यो अन्तरवार्ताबाट प्रष्ट भएको छ ।
यो देशको भौगालिक , सामाजिक,सांस्कृतिक ,आर्थिक, राजनीतिमाथि बिदेशी शक्तिबाट बारम्बार हस्तक्षेप भइरहेको छ । हाम्रा भूभागहरु दिनका दिन गुमिरहेका छन् , हाम्रा नदी नाला , ठुला ठुला आयोजनाहरु सबै एकपछि अर्को गर्दै भारतको पकडमा पर्दै गएको छ । येस्तो देख्दा कुन नेपालीको मन नदुख्ला ? सबै नेपाली आफ्नो भुमिको लागि आफ्नो ज्यान दिन सक्छन् तर आफ्नो भुमिमा अन्य देशको हस्तक्षेप कदापी सहदैनन् ।
नेपालमा राजनीतिक कारणले सामाजिक द्वन्द्वको अवस्था देखिन्छ । नेपालमा वर्गीय, जातीय, भाषिक भौगोलिक द्वन्द्व देखिन्छन् पनि , तर यस्ता घटनाले नेपालीको देशप्रेममा भने नकारात्मक असर पारेको छैन । नेपाली जनतामा सामाजिक सम्बन्ध निकै प्रगाढ र बलियो छ । यो डा. रिजालको अभिव्यक्तिबाट अझ प्रष्ट भएको छ । नेपाली नेताहरुमा यसैगरी देशभक्तिपूर्ण एकता प्रदर्शन भैरहने हो भने कुनै पनि शक्तिले नेपाललाई हेप्न सक्ने छैन ।


















