नेपालमा तेजाब आक्रमण गर्नेलाई बीसवर्ष कैद सजाय हुने

83

काठमाडौं – तेजाबसम्बन्धी कसुर नियन्त्रण गर्न सरकारले अध्यादेशमार्फत नयाँ कानुन जारी गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको अध्यादेशमा आफ्नो राय–सुझाव दिन मन्त्रीहरूलाई शुक्रबार मध्याह्न १२ बजेसम्मको समय दिइएको छ ।

फौजदारी कसुर एवं फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा तेजाब आक्रमण गरेर अङ्गभङ्ग बनाएमा र शरिरमा क्षति पु¥याएमा २० वर्षसम्म कैद सजाय र १० लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ ।

फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाबजस्ता घातक रसायन छ्यापी दुवै आँखा जले, दुवै कान जाली क्षति भई सुन्ने शक्ति नष्ट भए कानको जाली क्षति भई काम नलाग्ने भए, अनुहार पूर्ण रूपमा जले, वक्षस्थल (स्तन), यौनाङ्ग आदि जले, क्षति भए बीस वर्ष कैद र १० लाख रुपैयाँ जरिबाना निर्धारण गरिएको छ । तेजाब छ्यापेर शरीरको कुनै अङ्गमा गति भएमा कसुरको प्रकृतिअनुसार पाँचदेखि दसवर्षसम्म कैद र एक लाखदेखि पाँच लाख जरिवाना निर्धारण गरिएको छ ।

अपराधबाट पीडितको तत्काल वा सोही अपराधबाट पछि मृत्यु भएमा पनि कर्तव्य ज्यानसम्बन्धी महल आकर्षित हुने अध्यादेशमा उल्लेख छ । अपराध गर्दा पीडित पक्ष उम्किएर भाग्न सफल भएमा तेजाबसम्बन्धी कसुर गर्न उद्योग गरेको ठहर हुने र दसवर्षसम्म कैद र पाँच लाखसम्म जरिवाना हुने अध्यादेशमा उल्लेख छ । जरिबानावापत् सरकारले अशुल गरेको सम्पूर्ण रकम पीडितलाई नै क्षतिपूर्ति भराउने अध्यादेशमा उल्लेख छ ।

प्रधानमन्त्रीले तेजाबपीडित व्यक्तिहरू छलफल गरेपछि नयाँ कानुन बनेको हो । पछिल्लो समय नेपालमा तेजाब आक्रमणबाट महिलाहरु बढी पीडित हुँदै आएका छन् । यो कानुन निर्माणपछि तेजाब आक्रमणकारीहरु निरुत्साहित हुने सम्भावना पनि देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here