धनगढी-कैलालीको गौरीगंगा नगरपालिका– ६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए। उनको निधारमा दसैंझैं रातो टीका टल्किएको थियो। भारतमा बरेलीको ढावा होटलमा काम गर्ने उनी कोरोना त्रासका कारण जेठ २८ गते मात्रै घर फर्किएका थिए। यता गुजारा चलाउन गाह्रो भएपछि दसैंको मुखमै भारततिर हिँडेको उनले सुनाए।
धामीका घरमा तीन बच्चा र श्रीमती छन्। ‘चार जना घरमा छन्। अन्नले मात्रै के हुनु। नुन, तेल खर्च चाहिएन रु बिरामी परियो भने नि पैसा चाहिन्छ’, उनले भने, ‘चार महिना रिन काढेर बिताएँ।’
उनीजस्तै दैनिक १५ सयको अनुपातमा नेपालीहरू गौरीफन्टा नाकाबाट मात्रै भारत गइरहेका छन। त्यहीमध्ये एक हुन्, कञ्चनपुरको पुनर्वास नगरपालिकाका खोमबहादुर कुमाल। ‘गर्जो टार्नका लागि नेपालमा केही पाइएन’, कुमालले भने, ‘अनि कोरोनाको कहरका बीच भारत लागेको।’ दिल्लीमा रहेका मालिकले अब नराख्ने भनेपछि बैंङलोरतिर हिँडेको उनले सुनाए। उनी चैतको लकडाउनका बेला उर्लिंदो हुलमा घर फर्किएका थिए।
अछामका रूपेश खड्का पनि लालाबालासहित भारततिर पसेका छन्। लकडाउनका बेला लालाबालासहितै घर फर्किएका उनले घरमा गर्जो नटरेपछि दसैं, तिहार छोडेर भारत हिँडेको बताए। ‘घरमा कमाइ खान जग्गा छैन। रोजगार पनि छैन’, उनले भने, ‘सरकारले स्वरोजगार हुने कुनै कार्यक्रम पनि ल्याएको छैन। भारतमा सहजै नौकरी पाइहाल्छ। घरमा बस्यो भने भोकले मरिन्छ, भारतमा कोरोनाले मरिएला त के गर्नु रु जहाँ गए नि मरिने त हो नै।’
नेपालले भारतीय नागरिकलाई यता आउन रोक लगाएको छ। भारतले भने आधार कार्ड र पास भएका नेपालीलाई प्रवेश गर्न दिएको छ। आधार कार्ड भएका आफैं र नागरिकताका आधारमा भारतीय मालिकले पास बनाएर सीमामा पठाई दिएपछि नेपालीहरू भारत जान पाइरहेका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।


















