अ–सामाजिक सद्भाव

182

– प्रेमराज शिल्पकार, काठमाडाैं

“यहाँ पहिलेदेखि ऊ, तँ र म
अर्थात हामी सबै मिलेर
दैनिक गुजारा चलाउँथ्यौं ।
तर जबदेखि यो र त्यो अधिकार,
तेरो–मेरो र उसको जिम्मेवारीका कुराहरु उठ्न थाले ।
तबदेखि यहाँ हामीबिच झै–झगडा भए, मारकाट भए ।
अनि सामाजिक सद्भाव बिग्रियो ।
यस्तो त यहाँ कहिल्यै भएको थिएन ।
अब त यहाँ बसिनसक्नु भएर आयो ।”

“होइन ।
हिजो हामी मिलेर बसेका थिएनौं,
बरु सहेर बसेका थियौं ।
हामीमध्ये अधिकांश अबुझ दास–भोक पिडित थियौं ।
तिमीहरुको हातमा सम्पूर्ण साँचो र लठ्ठी थियो ।
यस्तोमा अन्याय–अत्याचार सहनु हाम्रो नियति थियो ।
तर अहिले परिस्थिति फेरिएको छ ।
छिमेकमा क्रान्तिको आगोले गाउँघरहरु झिलीमिली भैसकेको छ ।
त्यसैले सामाजिक सद्भावको नाममा
हामीमाथिको शोषण–उत्पीडन र हिंसाजन्य
फोहोरहरुलाई गलैंचामुनी लुकाउन दिनौं ।”
यथास्थिति मूर्दावाद ! पहिचान जिन्दावाद !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here