चौथो जनकपुर अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तयारी पूरा

41

जनकपुरधाम । बिहीबारदेखि सुरु हुने चौथो जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । मैथिली विकास कोषद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा कोषका अध्यक्ष जीवनाथ चौधरीले सम्मेलनको व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा बिहीबारदेखि यही माघ २२ गतेसम्म सञ्चालन हुने पाँच दिवसीय महोत्सवमा साहित्य, कला, राजनीतिक, सामाजिक तथा इतिहाससँग सम्बन्धित विभिन्न २० विषयमा विमर्श, चित्रकला, पुस्तक, मिथिला भोजन प्रदर्शनीलगायत कार्यक्रम तय भएको अध्यक्ष चौधरीले बताए ।

महोत्सवमा नेपाल र भारतका कलाकारद्वारा मैथिली, नेपाली, हिन्दी, असामी र बंगाली गरी पाँच भाषामा आठ नाटक पनि प्रदर्शन गरिनेछ । महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले र समापन मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गर्नेछन् ।

विभिन्न विषयमाथि हुने विमर्शमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले) का सचिव योगेश भट्टराई, नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्री, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झ लगायत वक्ताले सहभागिता जनाउने कार्यक्रम रहेको कोषले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here