काठमाडौं-सरकारले कोरोना संक्रमणबाट बच्न अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम राख्न अपिल गरिरहेको छ। तर सरकारी अस्पतालमा भने पिसिआर परीक्षण गराउन जानेको अत्यासलाग्दो भीड छ।
अस्पताल प्रशासनले पिसिआर परीक्षण गराउन आउने सर्वसाधारणको भीड व्यवस्थापन गर्न सकिरहेको छैन। त्यहाँ स्वाब दिन आउनेहरूलाई ठेलमठेल हुनेगरी उभ्याइन्छ। त्यहाँको भद्रगोल देखेर स्वाब दिन पुग्नेहरू आतंकित बन्ने गरेका छन्।
कर्मचारीले जसोतसो स्वाब संकलन गरिरहे पनि प्रशासनले भीड व्यवस्थापन गर्न नसक्दा उक्त अस्पतालमा भद्रगोल स्थिति सिर्जना भएको हो। साँघुरो ठाउँमा कोचाकोच गरी उभिँदा कोरोना संक्रमण फैलन सक्ने भन्दै कतिपय सर्वसाधारण स्वाब नै नदिई फर्कने गरेका छन्।
पिसिआर गराउन आउँदा उल्टै रोग सर्न सक्ने डर भएपछि फर्कनुको विकल्प नभएको आइतबार अस्पताल प्रांगणमा भेटिएका सूर्यकुमार बस्नेतले बताए। ‘कन्ट्याक्ट ट्रेसिङमा परें।
स्वाब दिऊँ भनेर आएको थिएँ,’ उनले भने, ‘यस्तो भीड छ, उल्टै कोरोना सर्ने सम्भावना देखें।’ एकअर्कालाई धकेल्दै स्वाब दिन जाँदा कोरोना संक्रमण भएकाबाट नभएकालाई सर्ने डर देखिएको आजको नागरिक दैनिकमा खवर छ ।


















