मुलुकले विकल्प खोज्नुपर्ने बेला उपस्थित भएकै हो त ?

98

—चन्द्रप्रकाश बानियाँ

देश अप्ठेरोमा छ । जनता कष्टमा छन् । राजनीतिक दलहरुको नजर भने सत्तामा टिकेका देखिन्छन् । सत्तारुढ पार्टीभित्र सत्ताकै रडाको छ । प्रतिपक्षदलभित्र पनि अन्तरपार्टी सत्ताकै निमित्त रडाको चलिरहेकै छ । आआफ्नै लडाईमा मस्त सत्तापक्ष र प्रतिपक्षमा जनताले आफूलाई हेरिरहेका छन् ,मूल्याङ्खन गरिरहेका छन् भन्ने कुराको पटक्कै ख्याल रहेको देखिदैन । सिंहदरबार र पार्टी सत्ताको कुर्चीका निमित्त दलहरुबीच चलेको मारमुङग्री हेरेर मनोरञ्जन लिने अवस्थामा जनता छैन । दैनिक हातमुख जोर्ने साधन जुटाउनै मुश्किल पर्ने अवस्थामा जनता पुगिसकेको छ । खान नपाएर भोकै मर्नुपर्ने छैन भन्ने प्रधानमन्त्रीको आश्वासनमा कसैले विश्वास गरेको त होइन तर आफैले आफ्नो चुलो बाल्ने व्यवस्था मिलाउने पौरखी नेपालीहरुले हार खानुपर्ने परिस्थिति उत्पन्न भएको छ ।

कोरोनाले झण्डै ५ सय जना नेपालीहरुको ज्यान खाइसक्यो । दिनहुँ संक्रमितको संख्या कहालिलाग्दो गरी चुलिदै छ । दशैं तिहारजस्ता ठूला चाड पर्वहरु नजिकिदै छन् । स्वभावतः ठूला शहरहरुबाट मानिसको लर्को गाउँतिर लुँडो लाग्ने छ । मानिसको साथलागेर कोरोना पनि गाउँघरतिर बसाई सर्नेछ । सरकारको दम निख्रिसके जस्तो छ । स्पष्ट लक्षण नदेखिएसम्म संक्रमणको शंकामा पिसिआर टेष्ट नगराउनु भन्ने निर्देशन जारी गरेको छ । हो, टेष्ट नगराउँदा संक्रमणको संख्या डरलाग्दोगरी बढेको देखिने छैन । त्यसले जनतामा फैलने संत्रासलाई अलिकता कम त गर्नेछ तर यथार्थमै संक्रमितहरुको संख्या घटाउने होइन । अर्कोतिर दशैं नजिकँदै जाँदा पुनः लकडाउनको हल्ला पनि चल्दैछ । यातायात सुचारु नरहनाले बर्षैभर दूर दुर्गममा दैनिक उपभोग्य वस्तुहरुको अभाव छँदैथियो । लकडाउनले चाडपर्वहरु पनि नेपाली जनताले अभावमै काट्नुपर्ने भयो । सिङ्गो मुलुक दुःख, त्रास र अभावमा बाँच्न विवश छ तर सत्तारुढ पार्टी भने “घरज्वाईलाई खानकै धन्दा” भने झै सरकार परिवर्तनको वेमौसमी कसरतमा निमग्न छ ।

सरकार कुम्भकर्णे निद्रामा छ । जनताको आवाज उसको कान बतास लाग्दैन । सञ्चारमाध्यमहरुलाई पनि टेर्दैन । लङ्काको कुम्भकर्णलाई बिउँझाउन उसको कानैमा नगरा बजाउनु पथ्र्यों रे । अर्धवेहोसीमा रहेको सरकारलाई बिउँझाउने दायित्व प्रमुख प्रतिपक्षको हो । नगरा वा दुन्दुभी बजाएर सरकारलाई उठाउनु पर्ने दायित्व प्रतिपक्षको हो । दुर्भाग्यवश प्रतिपक्ष अर्थात नेपाली काँग्रेसको नेतृत्वलाई सरकारको गतिविधितिर ध्यान दिने फुर्सदै छैन । संस्थापन पक्ष एक्का दुक्का नियुक्ति पडकाउने ध्याउन्नमै निमग्न छ । अर्को पक्ष पार्टी सभापति विरुद्ध हस्ताक्षर अभियान चलाउनमै व्यस्त छ । काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर ! देश दुखमा छ, जनता कष्टमा छन् । सरकार अकर्मण्य छ । यस्तो बेलामा सरकारलाई चेताउने, सजग बनाउने र जनहितका काम गर्नुपर्ने वाध्यात्मक स्थिति उत्पन्न गर्ने चेष्टा प्रतिपक्षको हुनुपथ्र्यों । विडम्वना नै भन्नुपर्छ नेपाली काँग्रेसले कहिल्यै प्रतिपक्षको धर्म निर्वाह गर्न जान्दै जानेन । सिक्दै सिकेन । त्यसको आवश्यकता नै ठान्दैन । आफ्नो धरातल नबुझे पछि प्रदर्शित हुने त्यस्तै गतिहीनता हो, कर्तव्यविमुखता हो, अन्यमस्कता हो । द्विविधिा हो ।

नेपालका साना ठूला सबै पार्टीहरुको साझा रोग असैद्धान्तिक गुटवाजी हो । दलहरु सबै गुटको दलदलमा भासिएका छन् । गुटले पार्टी राजनीतिलाई नै थङथिलो बनाइसकेको छ । त्यसैको अनिवार्य परिणति स्वरुप न सत्तापक्ष जनउत्तरदायी बन्न सकेको छ न प्रतिपक्षले आफ्नो कर्तव्य बुझ्न सक्छ । सत्तारुढ पार्टीको त अझ ठूलो कन्तविजोग छ । देश कोराना संकटमा छ तर सत्तारुढ पार्टीले त्यो समस्या देख्दै देखेको छैन । त्यो विपतप्रति संवेदनशील नै देखिदैन । विगत ४÷५ महिनादेखि नेकपाभित्र शक्ति संघर्ष चलिरहेको छ । शीर्ष नेताहरुको नेतृत्वमा बनेका अनेक गुटउपगुटहरुबीच “टग अफ वार” चलिरहेको छ । कुनै बेला पूर्वतिर कुनै बेला दक्षिणतिरको पक्ष बलियो भएजस्तो देखिन्छ । सत्ता आजै ढल्यो, भोलि नै ढल्यो भनेजस्तो परिस्थिति निर्माण हुन्छ । भोलिपल्टै अर्को पक्ष कमजोर देखिन्छ । लठो तान्ने लठैतहरुले निमेष निमेषमा पक्ष परिवर्तन गर्छन् । परिणामतः न सरकार बलियो गरी अडिन सक्छ न अर्को सरकार नै बन्न सक्छ ।

सत्तारुढ पार्टीभित्र चलेको लामो अन्तर्संघर्ष पछि तत्काल सरकार ढल्ने सम्भावना टरेजस्तो देखिदैछ ।  अब मन्त्रीहरुको पजनीको हल्ला चलेको छ । गुटहरुबीच भागबण्डा कहिले टुङ्गिने हो कुन्नी ?यो वा त्यो मान्छे सामेल गर्नुपर्छ र गर्नु हुदैनको रडाको चरिहेकै छ । कसैलाई गौतम नछिराई भएको छैन । कसैलाई बस्नेत विना घाँटीबाट पानी नछिर्ने स्थिति देखिन्छ । कसैलाई श्रेष्ठ चाहिएको छ । कसैलाई पाण्डे छिराउनु परेको छ । भित्र छिराउने र बाहिर निकाल्ने  कुनै निश्चित मापदण्ड छैन । नेताको दौराको फेर कसले बलियोगरी समातेको छ, कसको फरियाको साइनो बलियो छ वा कसले कति गोडा मल्न सकेको छ भन्ने कुराले योग्यता निर्धारण गर्ने भएपछि यस्तो गाईजात्रा देखिनु स्वाभाविक हो ।

मन्त्री÷मन्त्रीको खेलमा सत्तारुढ पार्टी मस्त छ । प्रतिपक्ष भावी अध्यक्षको भाँडाकुटी खेलमा रमाएको छ । जनताले भने न सत्तारुढ पार्टिको खेलप्रति रुचि राख्छन् न प्रतिपक्षको सडक नाटकतिर नजर लगाउने रुचि राख्छन् । बूढो भएर थारिएको भैंसी भिरबाट लडेर मरोस् कि थला परेर मरोस् जनता जनार्दनले कुनै साइनो सरोकार र अभिरुचि देखाएको देखिदैन । हुने नहुने निधो नभएको काँग्रेस महाधिवेशनले कसलाई सभापति चुन्ला भन्ने कुरातिर चाख पनि राख्दैनन् । जनातको ध्यान त मन्त्रीहरुको सम्भावित परिवर्तनले पनि तानेको देखिदैन । मन्त्री फेरबदलको रडाको जति जब्बर चले पनि काला गएर गोरा आउने भैदिएका भए पो जनरुचिको  विषय बन्ने हो । त्यस्तो परम्परा र अभ्यास नै छैन । यसपटकको खेल अपवाद बन्ने विश्वास कसले गर्ने ? कुन आधारमा गर्ने ? काला गएपछि झन काला आउने हुन् । गौतम वा बस्नेतजस्ता खलपात्रहरु भिœयाउनैका लागि मन्त्रीमण्डल पुनर्गठन हुने कुराले मुलुकले कुन राहत पाउने हो र जनताको रुचिको विषय बनोस त बिचरा ?

सत्तापक्ष प्रतिपक्ष दुबै दलहरुमा एकैनास चलेको आन्तरिक भालेजुधाईको खेल एकदिन समाप्त हुनेछ । परिणाम भने हेर्न लायक र भरोसा जगाउने खालको हुनेछैन । पुरानै अनुहारलाई मुकुण्डो पहि¥याएर लाखेनाच नाच्नका लागि मञ्चमा उतारिने हो भन्ने कुरा जनताले राम्रैसँग बुझेका छन् । राजनीतिको खेलसँग जनता किन त्यति साह््रो निस्पृह छ ? लोकतान्त्रिक पद्धतिमा प्रतिपक्षलाई पनि सत्ताको अभिन्न अङ्ग मानिन्छ । सत्ता अकर्मण्य भयो भने प्रतिपक्षबाट उत्तम विकल्पको आशा मुलुक र जनताले गरेको हुन्छ । नेपाली राजनीतिको विडम्बना कस्तो देखिएको छ भने सत्ता र प्रतिपक्षको अनुहारमा फरक छुट्टयानै सकिदैन । भाण्ड पंक्षीको जस्तो शरीर एउटा र टाउको दुइवटा भएजस्तो पो देखिन्छ । प्रतिपक्ष सत्ताको लाचार छाँया सावित भएको छ । जब मुलुकको हित कल्याणको कार्यमा सरकारको अस्तित्व र उपस्थिति कतै देखा नपरेपछि उसको छाँया देखिने कुरै भएन । अर्थात सरकारसँगै जनताको मनबाट प्रतिपक्षको तसवीर पनि अस्ताएको छ । जनताको उपेक्षा र नजरअन्दाजको भाव त्यसैको उपज हो ।

जनताले सत्ताबाट आशा भरोसा गुमाउने परिस्थिति उत्पन्न हुनु सत्ताको लागि खतराको घन्टी हो । दुरुस्त यस्तै परिस्थितिले सोभियत रुसको सरकार र पार्टीको एकै चिहान भएको थियो ।  नेपालको प्रतिपक्षको सत्तापक्षमा भएको विलय र सत्तापक्ष निरन्तर जनताबाट टाढा हुँदै गएको परिदृश्यले गर्ने संकेत सुखकारक देखिदैन । जुनसुकैबेला जे पनि हुनसक्छ । अप्ठेरो पर्दा सत्तालाई जनताले काँधमा बोक्ने परिस्थिति देखिदैन । जनताको भरथेग विना लोकतन्त्र चल्दैन । “उधैं सललल, तिमी पनि म पनि” भनेजस्तो सत्तापक्ष र प्रतिपक्ष एकैसाथ भिरबाट लड्ने स्थिति आयो भने जनताले राम राम त भन्लान्, सत्ता कसले थामिदिने होला कुन्नी ? भरोसालाग्दो विकल्प सुदूर क्षितिजसम्म कतै कोही देखिदैन ।

जनताले व्यवस्था परिवर्तन केबल परिवर्तनका लागि मात्रै गरेका होइनन् । व्यवस्था परिवर्तनका निमित्त जनताले रगत पसिना बगाउनुको कारण कुनै व्यक्तिविशेषलाई गद्दीच्युत गराउनु वा कसैलाई सत्तारुढ बनाउनु मात्रै थिएन । जर्जर भैसकेको बूढो रुख उखेलेर नयाँ आँपको बिरुवा हुर्काउने मनसाय जनताको थियो । जनताले आँप भनेर लगाएको विरुवा अन्डिरको ठह¥यो भने त्यसमाथि बञ्चरो चलाउन वाध्य हुनेछन् । जनताले अन्डिरको रुख ढाल्नुपरेपछि फेरि आँपकै बिरुवा लगाउँछन् भन्ने जरुरी हुदैन । आखिर जनतालाई चाहिएको चाँडै फलदिने रुखको हो । धेरै र मिठा फल दिने रुखको विरुवा लगाउने छन् । रसिला फललाग्ने विरुवा रोप्ने छन् । एकपटक स्वाद चाखिसकेको वेस्वादु विरुवा फेरि लगाइने छैनन् । फलै नलाग्ने विरुवालाई मलजल गर्ने मुर्खता फेरि दोहो¥याउने छैनन् । त्यसैले जनताले विकल्प खोज्नुपर्ने परिस्थिति उत्पनन गर्ने मुर्खता राजनीतिक दलहरुले नगर्नु बुद्धिमानी हुनेछ । वर्तमान विषम परिस्थितिले राजनीतिक दलको विकल्प होइन, व्यवस्थाकै विकल्पकोे बारेमा पुनर्विचार गर्नुपर्ने हो कि भनेर सोच्नुपर्ने अवस्थामा जनतालाई पु¥याउने नादानी राजनीतिक दलहरुले नगरुन् ।  –जनधारणाा साप्तािहकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here