काठमाडौं-सरकार र डाक्टर गोविन्द केसीको टोलीबीच वार्ता सुरू भएको छ।
सरकारले वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ भने डाक्टर गोविन्द केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली गठन गरिएको छ। डाक्टर केसीका सहयोगी प्रितम सुवेदीका अनुसार पौने ११ बजेदेखि सुरू भएको वार्ता अहिले पनि सिंहदरबारमा जारी छ।
सरकारले अनसन स्थगत गर्न डाक्टर केसीलाई आग्रह गरे पनि उनले माग पूरा नभई अनसन नतोड्ने अडान लिएका छन्। विभिन्न ६ बुँदे माग राखेर प्रा डा केसी गत २५ दिनदेखि अनसन बसेका छन्।
जुम्लाबाट अनसन सुरू गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन्। उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गइरहेको छ।


















