चितवनकाे कोरोना परीक्षण ल्याब दशैंमा खुल्ने

200

चितवन – चितवनमा दशैंको बेलामा कोरोना परीक्षणको कामलाई नरोक्ने गरी तयारी गरिएको छ । स्वास्थ्य कार्यालय चितवनमा आइतबार बसेको जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले दशैंको मुख्य तीन दिन अष्टमी, नवमी र दशमीमा आलोपालो ल्याबहरु खोलेर कोरोना परीक्षण गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले दिएको जानकारी अनुसार अष्टमीको दिनमा भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला, नवमीको दिन चितवन मेडिकल कलेजको प्रयोगशाला र दशैंको टीकाको दिन क्यान्सर अस्पतालको प्रयोगशाला सञ्चालन गरिने छ । चितवनमा तीनवटा अस्पतालले कोरोना परीक्षण गराउँदै आएका छन् ।

साथै बैठकले दशैंको बेलामा सबै स्थानीय तहमा स्टाण्डबाई रहने एम्बुलेन्सहरूको सूचीसमेत सार्वजनिक गर्ने निर्णय गरेको तिवारीले बताए । अस्पतालहरुमा हाल चलिरहेका कुनै पनि सेवालाई नरोक्ने गरी जनशक्तिको विन्यास र व्यवस्थापन गर्न अस्पतालहरूलाई भनिएको छ । ‘विदामा बस्दै नबस्नुस् भन्नुभन्दा पनि कुनै पनि सेवा नरोकिने हिसाबले व्यवस्थापन गर्न अस्पतालहरूलाई बैठकले भनेको छ,’ स्वास्थ्य कार्यालय प्रमुख तिवारीले भने, ‘कोभिडको बेलामा सबै संवेदनशील बन्नुपर्ने नै छ ।’

तिवारीले दशैंको बेलामा जमघट हुने भएकाले सावधानी अपनाउन सबैलाई अनुरोध गरे । टीका लगाउँदा बाहिर घाम भएको र हावा खेल्ने ठाउँमा लगाइदिन उनले सुझाव दिए । साथै टीका लगाउने र लगाइदिने दुवैले मास्क लगाउनु पर्ने पनि उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here