गएराति भएको च्याम्पियन्स लिगमा बार्सिलोना, चेल्सी र युभेन्ट्स विजयी

135

एजेन्सी – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह चरणका खेलहरुमा बार्सिलोना, चेल्सी, युभेन्ट्स, बोरुसिया डर्टमण्ड र सेभिया विजयी भएका छन् । दुई ठूला क्लब म्यानचेष्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन भने पराजित भएका छन् ।

समूह ए अन्तर्गत खेलमा लण्डन क्लब चेल्सीले फ्रेन्च क्लब रेन्सलाई ३–० ले हरायो । चेल्सीका लागि टिमो वेर्नरले २ तथा टोबी अब्राहमले १ गोल गरे । वेर्नरले १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा वेर्नरले पेनाल्टीमार्फत नै गोल गर्दै लण्डन क्लबको अग्रता दोब्बर पारे ।

४०औं मिनेटमा रेन्का डाबर्टले पेनाल्टी एरिया ह्याण्ड गरेपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिए भने चेल्सीले पेनाल्टी पायो र त्यसैमा वेर्नरले गोल गरे । १० खेलाडीमा झरेको रेन्सविरुद्ध चेल्सीले दोस्रो हाफमा एक गोल थप्यो । ५०औं मिनेटमा अब्राहमले चेल्सीका लागि तेस्रो गोल गरे ।

यसै समूहको अर्को खेलमा स्पानिस क्लब सेभियाले क्रासडोनरलाई ३–२ ले हरायो । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै सेभियाले पुनरागमन जित हात पारेको हो । सेभियाको मैदानमा भएको खेलको १७औं मिनेटमा सुलेमानोभ र २१औं मिनेटमा मार्कुस बर्गले पेनाल्टीमा गोल गरेपछि क्रासडोनरले सुरुमै २–० को अग्रता बनाएको थियो । तर लामो समय टिकेन । ४२औं मिनेटमा इभान राकिटिकले गोल गर्दै सेभियालाई खेलमा फर्काए । तर पहिलो हाफको अन्तिम समयमा जेसस नाभास रातो कार्ड पाउ मैदान बाहिरिएपछि सेभियालाई धक्का लाग्यो ।

एक गोलले पछि अनि एक खेलाडी कम रहेको अवस्थामा सेभियाले दोस्रो हाफमा उत्कृष्ट खेल्दै दुई गोल गर्यो । युसेफ एन नेसरीले ६९ औं र ७२औं मिनेटमा लगातार दुई गोल गरेपछि सेभियाले जित हात पारेको हो ।

समूह ईमा लगातार दोस्रो जितपछि चेल्सी र सेभियाले समान ७ अंक जोडेका छन् । यी दुई टोलीले पहिलो खेल एक आपसमा बराबरी खेलेका थिए । समान अंक भएपनि गोल अन्तरमा चेल्सी अगाडि रहँदै शीर्ष स्थानमा छ । जितविहीन क्रासनोडर र रेन्सोको समान १–१ अंक छ । समूह एफ अन्तर्गत खेलमा जर्मन क्लब बरुसिया डर्टमण्डले बेल्जियम क्लब ब्रुगलाई ३–० ले पराजित गरेको छ । अर्को खेलमा इटालियन क्लब लाजियो र रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गले १–१ को बराबरी खेलेका छन् ।

ब्रुगको मैदानमा डर्टमण्डलाई जिताउन एर्लिङ ब्रट हालान्डले दुई गोल गरे । त्यसअघि थोर्गन हाजार्डले १४औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । हालान्डले १८औं र ३२ औं मिनेटमा लगातार गोल गरेपछि डर्टमण्डले ३–० को अग्रता बनाएको हो । त्यसपछि भने गोल हुन सकेन । अर्को खेलमा लाजियोले जेनिथसँग बराबरी खेल्दै अंक खोसेको छ । येरोखिनले ३२औं मिनेटमा गोल गर्दै घरेलु टोली जेनिथलाई अग्रता दिलाएका थिए । तर ८२ मिनेटमा फेलिपे साइसेडोले लाजियोका लागि बराबरी गोल फर्काए ।

दोस्रो जित हात पारेको डर्टमण्ड ६ अंकसहित समूह एफको शीर्ष स्थानमा छ । ५ अंक जोडेको लाजियो दोस्रो स्थानमा छ ।

बार्साको जितमा मेसीको पेनाल्टी गोल

कप्तान लियोनल मेसीको पेनाल्टी गोल र जेरार्ड पिकेको गोल मद्दतमा बार्सिलोनाले युक्रेनी क्लब डिनाभो किभलाई २–१ ले पराजित गरेको छ । खेलको पाँचौ मिनेटमै मेसीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा पिकेले गोल

गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । डिनाभोका लागि ७५औं मिनेटमा भिक्टोर सिगानकोभले सान्त्वना गोल फर्काए ।

यसै समूहको अर्को खेलमा इटालियन क्लब युभेन्ट्सले फेरेनसिभारोसलाई ४–१ ले पराजित गरेको छ । युभेन्ट्सका लागि अलभारो मोराटाले दुई गोल गरे । मोराटाले खेलको सातौ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । ६०औं मिनेटमा मोराटाले गोल गर्दै अग्रता दोब्बर पारे । ७३औं मिनेटमा पाउलो डिबलाले गोल गरेपछि युभेन्ट्सले ३–० को अग्रता बनायो ।

८१ औँ मिनेटमा फेरेनसिभारोसका लाशा डेभालीले आत्मघाती गोल गर्दा युभेन्ट्सको अग्रता ४–० भयो । फेरेनसिभारोसका लागि फ्रान्क बोलीले अन्तिम समयमा सान्त्वना गोल फर्काए ।

समूह जीमा लगातार तेस्रो जित हात पारेको बार्सिलोना ९ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो जितपछि ६ अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमे कायम छ । डिनामो र फेरेनसिभारोसको समान १ अंक छ ।

युनाइटेड र पिएसजी स्तब्ध

समूह एच अन्तर्गतको खेलमा दुई ठूला क्लब म्यानचेष्टर युनाइटेड र पिएसजी पराजित भएका छन् । युनाइटेड टर्किस क्लब इस्तानबुल बसाकसेयरसँग तथा पिएसजी जर्मन क्लब आरबी लाइपजिगसँग समान २–१ ले पराजित भएका हुन् ।

टर्किस क्लबले युनाइटेडलाई सुरुवाटै दबाबमा राख्दै गोल गर्यो । प्रिमियर लिगको विभिन्न क्लबमा खेलिसकेका इस्तानबुलका फरवार्ड डेम्बा बाले १३ औं मिनेटले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए । ४० औं मिनेटमा एडिन भिस्काले गोल गर्दै इस्तानबुलको अग्रता दोब्बर पारे ।

४३ औं मिनेटमा एन्टोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई खेलमा पर्काउने संकेत देखाएका थिए । तर त्यसपछि खेलमा थप गोल गर्न नसक्दा युनाइटेड पराजित हुन पुग्यो । समूह चरणमा युनाइटेडको यो पहिलो हार हो । इस्तानबुलको भने यो पहिलो जित हो ।

उता पिएसजीले भने दोस्रो हार व्यहोर्दा लाइपिजगले दोस्रो जित हात पारेको छ । अग्रता जोगाउन नसक्दा पिएसजी पराजित भयो । घरेलु मैदानमा लाइपजिगले एक गोलले पछि परेको अवस्था उल्टाउदै पुनरागमन जित हात पारेको हो ।

खेलको छैटौं मिनेटमै एन्जल डि मारियाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा पिएसजीले अग्रता दोब्बर बनाउने मौका पाएको थियो तर डि मारिया पेनाल्टीमा चुकेपछि पिएसजीले मौका गुमायो । उनको प्रहार लाइपजिगका गोलिकपर पिटरले बचाए ।

४२ औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गोल गर्दै लाइपजिगलाई खेलमा फर्काए । ५७ औं मिनेटमा एमिल फोर्सवर्गले पेनाल्टीमा गोल गर्दै लाइपजिगलाई पहिलो पटक अग्रता दिलाए ।

६९ औं मिनेटमा इड्रिसा नागा गुये रातो कार्ड पाउँदै मैदानबाट बाहिरिँदा पिएसजी दश खेलाडीमा झरेको थियो । यस्तै अन्तिम सममया प्रेसनेल किमपेम्बेले पनि रातो कार्ड पाउँदै मैदान छाडेपछि पिएसजीले ९ खेलाडीमा रहेर खेल सकाएको थियो ।

समूह एचमा युनाइटेड ६ अंकसहित शीर्ष स्थानमै छ । समान अंक जोडेको लाइपजिग दोस्रो स्थानमा छ । ३–३ अंक रहेको पिएसजी र इस्तानबुल क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here