प्रशासनिक केन्द्र सिंहदरबारको सुरक्षामा नयाँ नीति

63

काठमाडौं । सरकारले मुुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको सुरक्षामा नयाँ नीति अपनाउने भएको छ । सिंहदरबारभित्र मानिसको प्रवेश र सुरक्षा व्यवस्थालाई थप व्यवस्थित गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकलीन योजनासहित ‘सिंहदरबार परिसर एकीकृत सुरक्षा कार्ययोजना, २०७७’ तयार पारिसकेको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

सिंहदरबारमा दैनिक १० हजारदेखि १५ हजार मानिस आवतजावत गर्छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाहेक सबै सङ्घीय सरकारका मन्त्रालय सिंहदरबार परिसरभित्रै छन् ।‘‘सुरक्षाका लागि कार्ययोजना तयार भइसकेको छ’’, प्रवक्ता बुढाले थप्नुभयो, ‘‘यो कार्ययोजनालाई अगाडि बढाउन सम्बन्धित मन्त्रालय र निकायको सहयोग तथा समन्वय चाहिन्छ, त्यसका लागि विभिन्न मन्त्रालय र निकायसँग राय सुझाव लिने काम भइरहेको छ । ’’

यस कार्ययोजनालाई अगाडि बढाउन धेरै निकायले जिम्मेवारी बहन गर्नुपर्ने देखिएको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘‘विभिन्न मन्त्रालय र निकायबीच समन्वय गरी अन्तिम रूप दिन बाँकी नै छ । ’’

सिंहदरबार परिसरमा निर्माण भइरहेको सङ्घीय संसद् सञ्चालनमा आइसकेपछि सिंहदरबारमा सर्वसाधारणको आवागमन झन् बाक्लो हुने भएकाले भविष्यमा हुन सक्ने सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै सो सुरक्षा कार्ययोजना ल्याइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here