पत्रकारकाे पीडा कष्टकर, न नियुक्तिपत्र, न पारिश्रमिक

96

 

इलाम- पत्रकारले प्रायः अरूका विषय प्रकाशन र प्रशारण गर्छन् । जो कोहीका समस्या सुनाउनु परेमा पहिलो लहरमा पत्रकार नै आइपुग्छन् ।

सडक वा सत्ता सबैका मर्का सुन्नुपर्ने बाध्यता पत्रकारको हो । सधैं अर्काका विषय बाहिर ल्याउने पत्रकारकै पीडा चाहीँ कस्ता हुन्छन् होला रु

अरूका पीडा सुन्ने माध्यम बन्ने पत्रकारका पीडा यस्तासम्म हुँदा रहेछन् ।

नेपाल प्रेस युनियन इलामद्वारा सदरमुकाममा आयोजित एक कार्यक्रममा पत्रकारहरुले वर्षदिनदेखि तलब नपाएकादेखि समाचार लेख्दा ज्यानै जोखिममा पर्ने गरेकासम्मका समस्या पोखेका छन् ।

इलाम एफएमका स्टेशन म्यानेजर रमेश पराजुलीले आर्थिक सङ्कटका कारण रेडियो बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको बताउनुभयो ।

अर्का रेडियोका प्रतिनिधि विक्रम सुन्दासले नचाहेर पनि सञ्चार क्षेत्रमा राजनीति छिर्नाले पेशागत मर्यादा गुम्न सक्ने बताउँदै सञ्चार क्षेत्र नै धरासायी भएकाले पत्रकार पलायन हुने अवस्थामा पुगेको गुनासो गर्नुभयो ।

नागरिक दैनिकका इलाम संवाददाता भीम चापागाईंले भन्नुभयो, “सञ्चारमाध्यमले नियुक्ति पत्र नदिएकाले पनि धेरै पत्रकारले पारिश्रमिक नपाउने गरेका छन् ।

नियुक्तिपत्र नभएकाले धेरै पत्रकार मिडियाबाट निस्किँदा आवाज उठाउन सक्दैनन् ।”

सधैं अरूका नियम(कानूनका विषयमा बहस गर्ने पत्रकार नै नियुक्तिपत्र नलिई काम गर्छन् भन्ने सुन्नु नौलो विषय लाग्न सक्ला तर याथार्थ यही हो ।

केही समयअघि इलामकै एक सञ्चारमाध्यमले विभिन्न बाहनामा पत्रकार निकालेको थियो । शुरुमा ‘पछि बोलाउने’ भन्दै बिदा गरे पनि हालसम्म कसैलाई बोलाइएको छैन ।

पत्रकार महासङ्घ इलामका उपाध्यक्ष सुजन तिम्सिनाले सञ्चारमाध्यमबीच समन्वयकारी भूमिका नहुँदा अपेक्षाकृत विज्ञापन नआएको बताउँदै सुरक्षा चुनौतीकै कारण कतिपय समाचार लेख्न नसकेको बताउनुभयो ।

सञ्चारकर्मी सुजता सुनुवारले पत्रकारितामा महिला पत्रकार टिक्न नसकेको बताउनुभयो । “त्यसै पनि महिला पत्रकार कम छन् ।

भएकाले पनि धेरै सकस मोल्नुपर्छ”, उहाँले भन्नुभयो, “हामी त सूचना माग्न जाँदासमेत सही र गलत सूचना जान्न मुस्किल पर्छ ।”

प्रविधिको युगमासमेत कतिपय सरकारी संस्थाले कार्यालय अगाडि सूचना टाँस्ने गरेको पत्रकार राम योङहाङले बताउनुभयो ।

कार्यक्रममा स्थानीय सरकारले सञ्चारमाध्यमलाई विज्ञापन नदिने गरेको आरोप सञ्चारकर्मीहरूले लगाएका छन् ।

पत्रकार महासङ्घका केन्द्रीय सदस्य सटेन्द्र जवेगूले कोरोनाका कारण नेपालमा ४० प्रतिशत पत्रकारले आम्दानी गुमाएको, चार प्रतिशतले रोजगारी गुमाएको, छ प्रतिशतले बेतलबी बसेको, नौ प्रतिशतको तलब कटौती गरिएको जानकारी दिनुभयो ।

केही समयअघि पत्रकार महासङ्घले गरेको सर्वेक्षणबारे जानकारी गराउँदै उहाँले २० प्रतिशतले नियमित तलब नपाएको, ४० प्रतिशतले पत्रकारिता पेशा गर्ने वा छाड्ने अन्यौलमा परेको, १५ दशमलब ५ प्रतिशतले घरबाटै काम गरेको र चार दशमलब एक प्रतिशतले पेशा नै परिवर्तन गर्ने सोचमा पुगेको र दुई तिहाइलाई घरखर्च टार्न समस्या भएको बताउनुभयो ।  रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here