कालीमाटी फलफूल तथा तरकारी बजारमा १६ हजार टन कन्दमूल भित्रियाे

468

काठमाडौं । माघे संक्रान्तिलाई लक्षित गर्दै कालीमाटी फलफूल तथा तरकारी बजारमा महीना दिनमै करीब ११ करोड मूल्य बराबरको १६ हजार टन कन्दमूल भित्रिएको छ । तरूल, सखरखण्ड र पिँडालु गरी पुस महीनामा मात्र १० करोड, ७७ लाख २५ हजार मूल्यको १५ हजार ७५ टन कन्दमूल कालीमाटी तरकारी बजारमा भित्रिएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ९आव० को पुस महीनामा मात्र ७ करोड, ९१ लाख २५ हजार रुपैयाँ बराबरको १ हजार ५५ टन तरूल आयात भएको छ ।

१ करोड २९ लाख ८० हजार मूल्यको २ सय ३६ टन पिँडालु र १ करोड ५६ लाख २० हजार मूल्यको २ सय ८४ टन सखरखण्ड भित्रिएको छ । यो परिमाण अघिल्लो वर्षको पुस महीनाको भन्दा १ सय ४८ टन कम हो । समितिका सूचना अधिकृत विनय श्रेष्ठका अनुसार अघिल्ला वर्षहरूमा व्यापारीहरूले कन्दमूल भित्र्याउँदा सीधै कालीमाटीमा नै ल्याउँथे र काठमाडौंका स्थानीय बजारहरूमा पठाउने गर्दथे । यसले गर्दा अघिल्लो वर्ष धेरै आयात भएको देखिन्छ । यस वर्ष व्यापारीहरूले स्थानीय बजारमा सीधै पठाएकाले कालीमाटीमा भित्रिएको परिमाण कम देखिन गएको उनले जानकारी दिए ।

आव २०७४/७५ देखि चालू आवसम्मको तथ्यांक तुलना गर्दा सबैभन्दा बढी २८ सय २४ टन कन्दमूल आव २०७६/७७ मा भित्रिएको देखिन्छ । सबैभन्दा कम १२ सय ९८ टन कन्दमूल आव २०७४/७५ मा भित्रिएको थियो । त्यसैगरी आव २०७५/७६ मा १८ सय ८७ र चालू आवको शुरूदेखि हालसम्म २४ सय २० टन कन्दमूल आयात भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूचीअनुसार तरूलको औसत थोक मूल्य प्रतिकिलो ७५ रुपैयाँ, सखरखण्डको औसत थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ र पिँडालुको औसत थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ रहेको छ । तर, खुद्रा बजारका व्यापारीहरूले भने उपभोक्ताहरूसँग चाड पर्वको मौका छोप्दै चर्को मूल्य असुल्ने गरेको पाइएको छ । खुद्रा व्यापारीहरूले तरूलको मूल्य प्रतिकिलो १ सय ५० देखि १ सय ७० रुपैयाँसम्म लिने गरेको पाइएको छ । त्यसैगरी सखरखण्ड र पिँडालुको मूल्य खुद्रा बजारमा १ सय रुपैयाँसम्म पर्ने गरेको छ ।

कालीमाटी तरकारी बजारमा मुख्य गरी चितवन, धादिङ, काभ्रे, दोलखा, गोरखा, झापा, रौतहट, सिन्धुली, सुनसरी, नवलपरासी, मोरङ, रूपन्देही र सर्लाहीलगायत जिल्लाबाट तरूल, सखरखण्ड र पिँडालु आयात हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here