सरकारले अख्तियारमा धूलो परेका फाइल निकाल्न थाल्याे : परराष्ट्रमन्त्री ज्ञवाली

109

गुल्मी — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अदालत र अख्तियारमा धूलो परेका फाइल सरकारले निकाल्न थालेको बताएका छन् । यसले पार्टीभित्र नयाँ तरंग आएको उनको धारणा छ ।

भ्रष्टाचारीको कुनै पार्टी, जात र रङ नहुने भएकाले कसैलाई पनि नछाडिने मन्त्री ज्ञवालीले जनाए । वर्षौंसम्म थन्क्याएर राखेका धूलो परेका फाइललाई निकालेर हेरिन्छ, भ्रष्टाचारी त्रसित भएका छन्, शनिबार ओली समूहका अगुवा कार्यकर्तालाई गुल्मीको रेसुंगा नगरपालिकाको तम्घासमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भने । उनले सुशासन कायम गर्न सरकार दृढ रुपले लागेको जनाए ।

सरकारले तोकिएकै समयमा निर्वाचन गराउन गृहकार्य अगाडि बढाएकाले अब गाउँ–गाउँमा जनतालाई आफ्नो पक्षमा पारेर चुनावी अभियान सञ्चालन गर्न ज्ञवालीले कार्यकर्तालाई निर्देशन दिए । ‘अबको विकल्प सडक होइन, निर्वाचन हो,’ उनले भने, ‘हामी जनताको फैसला स्वीकार्न तयार छौं, हारेर जंगल पस्दैनौं, जनताको सेवामा अविचलित भई निरन्तर खट्छौं ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्ष जस्तो गरिमामय पदलाई दुरुपयोग गरेर पुष्पकमल दाहालले धोका दिएको उनको आरोप छ । दाहाल कार्यकारी अध्यक्ष भएपछि पार्टी काममा लाग्न छाडेर गुट बनाउँदै पार्टी एकताको म्यान्डेटविपरीत गतिविधि गरेर पार्टी विभाजन गरेको पनि उनले आरोप लगाए ।

मन्त्री ज्ञवालीले पार्टीमा पदको बार्गेनिङ गरेर दाहालले प्रधानमन्त्री र माधव नेपालले पार्टी अध्यक्ष पद नपाएपछि छँदाछँदाको आफ्नो पार्टीको दुई तिहाइको सरकारलाई बदनाम गराउन सडक गएर रोइकराई गरेको दाबी गरे । ‘पार्टीभित्र आफ्नो शक्ति आर्जन गर्ने र कुर्सीकै लागि दाहालले राजनीति गरे,’ उनले भने, ‘स्थिर सरकारको लागि जनतासमक्ष मागेको मतलाई कदर गर्ने काम पटक्कै भएन । कुर्सीका लागि पार्टीमा बबाल मच्चाउने काम दाहाल र नेपालले गरे ।’

कब्जा गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेपछि संविधान र लोकतन्त्र रक्षार्थ प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर जनतामा जाने बाध्यकारी निर्णय गरेको उनले जनाए । ओलीले प्रधानमन्त्री हुन अर्को निर्वाचन र पार्टी अध्यक्ष हुन्न, छिट्टै महाधिवेशन गरेर वैधानिक ढंगले सत्ता हस्तान्तरण गर्छु भनेर दाहाल र नेपाललाई बारम्बार सम्झाउँदा भन्दा नमानेको उनले बताए । दाहाल र नेपाललाई पद नगद चाहियो, केही समय पर्खन नसकेकाे जनाए ।

चुनावमा ५ वर्ष स्थिर सरकार भनेर भोट मागेका दाहाल नेपालले जनताको मत र कार्यकर्तालाई धोका दिएर निराश बनाएर सडकमा बेमौसमी बाजा बजाएको ज्ञवालीको जिकिर छ । दाहालको फाटेको मन टाल्दा टाल्दा हैरान भएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here