काठमाडाैं – हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरू हुने हिन्दू धर्मावलम्बीको श्री स्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरू भएको छ।
बर्षैपिच्छे पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा वाचन गरी सुनाउने चलन रहेकाे छ ।
स्वस्थानी परमेश्वरीको ब्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकाे छ। माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिले पूजाको विधि, पूजामा चाहिने सामग्री तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण जानकारी दिइसकेको छ। हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरूआत हुन्छ।
बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रतकथा सुन्ने सुनाउने परम्परा छ।
माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिले माघ १५ गतेदेखि एक महिनासम्म चल्ने शालीनदी मेलाका लागि काेराेना भाइरसको महामारीका कारण मापदण्ड र कार्यविधि बनाएर मेला सञ्चालन गरेको हो। महामारी कारण शालीनदी मेलाका लागि समितिले बढीमा पचास जना ब्रतालु राख्ने गरी ब्रत पूजा सञ्चालन गरेको समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताए। गत वर्ष ब्रतालुको सङ्ख्या ३ सयभन्दा धेरै थियो। ब्रतालुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दर्शन गर्न दूर दर्शनको व्यवस्था मिलाइएको छ भने ब्रतालु र भक्तजनहरुबीच दूरी कायम गराउनका लागि व्रत परिसरमा बार लगाएर ठाउँ खाली गरिएको छ।
साथै मेलामा आउने भक्तजनका लागि मास्क अनिवार्य गर्दै दूरी कायम हुने गरी सम्पूर्ण सुरक्षा र स्वास्थ्यलगायतका विषयमा तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको छ। गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार ब्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिए अनुसार साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्ने गर्दछ।


















