पृथ्वीनारायण क्याम्पसबाट निस्केको मोटरसाइकल र्याली सिम्पानी, हरिचोक, मालेपाटन, पृथ्वीचोक, विरौटा, न्युरोड हुँदै पृथ्वीनारायण क्याम्पसमै पुगेर समापन भएको थियो। पृथ्वीचोकमा बन्दकर्ता र बन्दको विरूद्ध जुलुस निकालेका ओलीका कार्यकर्ताबीच केहीबेर भनाभन भएको थियो।
ओली समूहको विरोध जुलुस गएपछि प्रचण्ड-नेपाल पक्षले ओलीविरूद्ध नाराबाजी गरेका थिए भने ओली पक्षले नेपाल खुला छ, केपी ओली जिन्दावाद लगायतका नारा लगाएका थिए।
प्रहरीले उनीहरू दुबै समूहबीच झडप हुन नदिन दुबै पक्षको बीचमा बसेर सुरक्षा दिएको थियो। दुबै पक्षले नाराबाजी गरेपछि केहीबेर कार्यकर्ताहरूबीच भनाभन भएको थियो।
प्रचण्ड-नेपाल पक्षले नेपाल बन्द गरेर सर्वसाधारणलाई दु:ख दिएकाले विरोध गर्नुपरेको ओली पक्षीय अनेरास्ववियुका केन्द्रीय सदस्य केशव सापकोटाले जनाए ।
प्रचण्ड-नेपाल पक्षका कार्यकर्ता पोखराका चोक-चोकमा बसेर सवारी साधन आवागमनमा अवरोध गरिरहेका छन्।
सवारी साधन चल्न अवरोध गरेको भन्दै प्रहरीले प्रचण्ड-नेपाल पक्षका कार्यकर्ता विनायक तिमिल्सिनालाई पक्राउ गरेको छ। पोखरामा अहिलेसम्म तोडफोड र झडप भने नभएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जनाए ।