विश्वभर करिब ७ अर्ब कुखुराका भाले चल्लाहरु मारिन्छन्

226

काठमाडौं। हरेक वर्ष विश्वभरी करिब ७ अर्ब कुखुराका भाले चल्लाहरु मारिन्छन् । अण्डा उत्पादन गर्ने प्रयोजनका लागि पालिने प्रजातिका कुखुराका भाले चल्लाको आवश्यकता कम पर्छ किनकि पोथीले अण्डा पार्नको लागि भाले आवश्यक पर्दैन । भाले बिना पनि पोथीले अण्डा पार्छन् । फरक यत्ति हो भालेबिना पारेका अण्डाबाट चल्ला बन्दैनन् । तर, भालेबिनाका अण्डा पनि खानको लागि भने उत्तिकै योग्य र पौष्टिक हुन्छन् ।

अण्डा उत्पादन गर्ने प्रजातिका कुखुराका पोथी धेरै आवश्यक पर्छन् । तर, चल्ला उत्पादन गर्नको लागि जति अण्डा ह्याचरीमा राखिन्छन् त्यसबाट करिब आधा चल्ला भाले निस्किन्छन् । ती भाले चल्लाहरुलाई मासुको प्रयोजनको लागि हुर्काउँदा आर्थिक दृष्टिले लाभदायक हुँदैन किनकि ती भालेहरु ढिलो हुर्किन्छन् । अर्कोतर्फ मासुकै प्रयोजनका लागि पालिने कुखुराका चल्ला छिटो हुर्किन्छन् । यस्तोमा विभिन्न विधि प्रयोग गरेर अण्डा उत्पादन गर्ने प्रजातिका कुखुराका भाले चल्लाहरु मारिन्छन् ।

यसरी भाले चल्लाको हत्या हुने क्रम रोक्न नयाँ प्रविधि सुरु गरिएको छ । इजरायलको एक स्टार्टअप कम्पनीले चल्लाको हत्या रोक्न भाले चल्लालाई अण्डाभित्रै पोथी बनाउने प्रविधि ल्याएको छ । अर्थात अण्डाभित्रै चल्लाको लिंग परिवर्तन गरिनेछ र अण्डाबाट बाहिर निस्किँदा उनीहरु पोथी भएर निस्किनेछन् । द गार्डियनको रिपोर्टअनुसार इजरायलको सूस टेक्नोलोजी नामक स्टार्टअप कम्पनीले यस्तो प्रविधिको विकास गरेको हो ।

सूस टेक्नोलोजीको स्थापना २०१७ मा भएको थियो । कम्पनीलाई ३.३ मिलियन डलर लगानी पनि प्राप्त भएको थियो । यसबाहेक कम्पनीले १ मिलियन डलर बराबरको पुरस्कार पनि जितेको थियो । अब यो कम्पनीले कुखुराको भ्रुणको लिंग अण्डाभित्रै परिवर्तन गर्न चाहन्छ ताकि ती चल्ला अण्डाबाट निस्किँदा पोथी चल्लाको रुपमा निस्किउन् । सूस टेक्नोलोजीले आवाजको भाइब्रेसनको प्रयोगले भ्रुणको लिंग परिवर्तन गर्ने तयारी गरेको छ ।

कम्पनीका सीइओ याएल अल्टरका अनुसार अण्डाहरुलाई आवाजको भाइब्रेसनको अगाडि राखेपछि यसको कारणले भाले चल्लाको जीनमा परिवर्तन हुन्छ । यसबाट चल्लाको भाले अण्डकोष परिवर्तन भएर पोथी अण्डकोष अर्थात ओभरी बन्छ । याएलका अनुसार उनको कम्पनीले अहिले यो प्रयोग गरिरहेको छ । उनले अहिलेसम्म जति अण्डामा यो प्रयोग गरियो तीमध्ये ६० प्रतिशतको जीन बदलिएको बताए । यसबाट चल्लाहरु मार्नुपर्ने आवश्यकता नहुने उनको भनाइ छ ।

सूस टेक्नोलोजीले हरेक अण्डाभित्र रहेका भाले चल्लालाई बदलेर पोथी चल्ला बनाउने प्रयास गरिरहेको छ । कम्पनीले अहिले तीन देशमा आफ्नो प्रयोग गरिरहेको छ । इजरायल, इटली र अमेरिकामा प्रयोग गरिरहेको कम्पनीले अहिले अण्डा हेरेर त्यसबाट भाले निस्किन्छ कि पोथी निस्किन्छ भन्ने थाहा पाउने प्रविधि विकसित गरिरहेको बताएको छ । यसका लागि कम्पनीले एग फ्लुड (अण्डाभित्रको तरल पदार्थ) को नमूना लिएर अप्टिकल प्रविधिको माध्यमबाट त्यसको जाँच गरिरहेको छ । त्यसपछि आवाज भाइब्रेसनबाट त्यसको जीन बदलेर पोथी चल्ला बनाउँदैछन् ।

कैयौं युरोपेली देश भाले चल्ला मार्न बन्द गरियोस् भन्ने चाहन्छन् । फ्रान्सले २०२१ को अन्त्यसम्ममा भाले चल्ला मार्न बन्द गर्ने तयारी गरेको छ किनकि यो देश सूस टेक्नोलोजीको तरिकाबाट खुसी छ । आवाजको भाइब्रेसनबाट अण्डाभित्र रहेको जीवको जीन बदल्नु कठिन प्रक्रिया हो । यस विषयमा वैज्ञानिकमा मतभेद पनि छ । क्योटो युनिभर्सिटी जापानका अनुसन्धानकर्ता मासाहिरो कुमेताका अनुसार आवाजको भाइब्रेसनबाट जीन बदल्नु विश्वव्यापी स्तरमा मान्यता प्राप्त छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here