विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा

384

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताउनुभएको छ । सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको स्पष्ट पार्नुभयो ।

सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, “यस्ता पर्वले हाम्रा मौलिक संस्कृति प्रवद्र्धन गर्न, सामुदायिक ऐक्यबद्धता एवं सामाजिक सद्भाव अभिवृद्धि गर्न र बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।”

चन्द्र पात्रोअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वमा तामाङ समुदायले कूल पूजा, प्रकृति पूजा र बुद्ध शिक्षाको स्मरण गर्नाका साथै आफन्तजन भेला भई भोजन एवं मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्ने प्रचलन रहिआएको छ ।

यस पर्व तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशलगायत देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले आ–आफ्नै शैली र परम्पराअनुसार मनाउँदै आएको पाइन्छ ।

राष्ट्रपतिले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपतिबाट ल्होसारको शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्घर्षपछि प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको शासन व्यवस्थालाई संस्थागत गरेको संविधानको पालन र रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको बताउनुभएको छ ।

तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होसार २८५७ र शेर्पा तथा हिमाली आदिवासी जनजाति समुदायको महान् सांस्कृतिक पर्व तथा नयाँ वर्ष ग्याल्वो ल्होसार–२१४८ आइपुगेको उहाँले उल्लेख गर्नुभएको छ ।

उपराष्ट्रपतिले मुसा वर्गको बिदाइ र गाई÷गोरु वर्गको स्वागत गरी मनाइने सोनाम ल्होसार र ग्याल्बो ल्होसारबाट संविधानको रक्षा र पालन गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

सोनाम ल्होसार र ग्याल्बो ल्होसारका अवसरमा देशविदेशमा रहनुभएका तामाङ, शेर्पा, हिमाली आदिवासी दिदीबहिनी तथा दाजुभाई र आम नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धिको कामना गर्दै उपराष्ट्रपतिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक भएको स्पष्ट पार्नुभयो ।

हिमाल, पहाड, तराई–मधेशको भौगोलिक विविधता र यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व हाम्रो गौरव भएको उहाँको भनाइ छ ।

सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका हाम्रा धार्मिक एवं सांस्कृतिक चाडपर्वको संरक्षण र सम्वद्र्धन गर्न जरुरी रहेको उपराष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ ।

काठमाडौँ उपत्यका आसपासमा आदिमकालदेखि बसोबास गर्दै आएका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेषभुषासहितको पहिचान छ । उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ, “तामाङ सेलो गीत, टुङ्ना र डम्फुको सङ्गीत आज नेपालका सम्पूर्ण जातजातिको लोकभाकाको अभिन्न अङ्ग बनेको छ । हिमाली भेग आदिम थलो भएका शेर्पा समुदाय भाषा, धर्म, संस्कृति, पम्परा तथा सभ्यतामा धनी समुदाय हो ।”

हिमाल आरोहण तथा पर्यटनका माध्यामबाट विश्वमा नेपाललाई परिचित गराउने पहिलो शक्ति शेर्पा समुदाय रहेको र हिमालले नेपाललाई जति सुन्दर बनाएका छन्, हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायलगायतका आदिवासी जनजातिका वेषभूषा, भाषा, धर्म संस्कृति, रहनसहनले त्योभन्दा बढी सुन्दर बनाएको उपराष्ट्रपतिको भनाइ छ ।

नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा योगदान पु¥याउनुका साथै सम्पूर्ण नेपालीकाबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा उपराष्ट्रपतिले गर्नुभएको छ ।

विविधताबीच एकता, सद्भाव र सहिष्णुता : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विविधताबीच एकता, सद्भाव र सहिष्णुता मुलुकको राष्ट्रिय विशेषता भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले तामाङ जातिको सोनाम ल्होछार र शेर्पा जातिको ग्याल्बो ल्होछारका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरू मुुलुकको राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएको बताउनुभएको छ ।
उहाँले संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धि विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको चर्चा गर्नुहुँदै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ, “ऐतिहासिक जनआन्दोलनबाट स्थापित लोकतन्त्रिक गणतन्त्रको सम्वद्र्धन गर्दै सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, स्वाधीनता र देशभक्तिलाई केन्द्रमा राखेर समृद्ध मुलुक निर्माणमा हामी अग्रसर छौँ ।”

मौलिकतायुक्त पर्व नेपालको विशेषता : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालमा मनाइने चाडपर्वले नेपालीबीचको आपसी सहिष्णुता, भ्रातृत्व र सामाजिक सांस्कृतिक ऐक्यबद्धताको बढोत्तरी गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सभामुखले हाम्रा मौलिक चाडपर्वको संरक्षण र सम्वद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो । तामाङ, शेर्पा, ह्योल्मोलगायतका नेपालका आदिवासी जनजातिको मुख्य पर्व एवं नयाँ वर्ष, ‘२८५७औँ सोनाम ल्होसार’र ‘२१४८औँ ग्याल्बो ल्होसार’का अवसरमा शुभकामना सन्देश दिँदै सभामुखले विविधतायुक्त जातीय उपस्थिति रहेको नेपालमा सबैको आआफ्नै संस्कृति, परम्परा र रीतिरिवाज रहेको स्मरण गर्नुभएको छ ।

मौलिकता बोकेका चाडपर्वले आफ्नै विशेषता र महत्व बोकेको भन्दै उहाँले त्यस्ता पर्व विविधताभित्र देखिने मौलिकताका नमूना हुन् भन्नुभएको छ । सोनाम ल्होसार र ग्याल्बो लोसारले शान्ति, मित्रता, सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्ने सभामुखले विश्वास व्यक्त गर्नुभएको छ । राससस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here