काठमाडौं/पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको जनाएका छन्। प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले जनताको आस्था, चाहना र भावनालाई मेट्न खोजेर नमेटिने उल्लेख गरेका छन्।
‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन्’, शाहले भनेका छन्।
उनले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणाली मात्र नभएरे सामाजिक जीवन पद्धति पनि रहेको उल्लेख गरेका छन्।
‘प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणाली मात्र होइन, यो सामाजिक जीवन पद्धति पनि हो र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटूट रहन्छ’, शाहले भनेका छन्, ‘यसमा राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समर्थ भएका छौं रु सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ।’
नेपालमा प्रजातान्त्रिक विधि, व्यवहार अघि बढोस् भने सबैको चाहना रहेको भन्दै पूर्वराजा शाहले भनेका छन्, ‘प्रजातन्त्र प्राप्तिको सत्तरी वर्षपछि आएर पनि हामी अहिले प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त छौं, ग्रस्त छौं। प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो।’


















