काठमाडौं । जापानका अर्बपति यासुका मीजावाले चन्द्रमामा निःशुल्क जाने अवसर सिर्जना गरेपछि विश्वका विभिन्न मुलुकबाट तीन लाखभन्दा बढीले आवेदन दिएका छन् । मीजावाले सन् २०२३ मा हुने चन्द्रमाको ६ दिने यात्राका लागि आठ जनालाई निःशुल्क लैजाने घोषणा गरेका छन् । यसका लागि उनले आवेदनसमेत माग गरेका छन् । आवेदन माग गरेलगत्तै विश्वका विभिन्न मुलुकबाट चन्द्रमामा जाने इच्छासहित आवेदन दिनेको ओइरो लागेको हो ।
‘डेली मेल’का अनुसार हालसम्म तीन लाखजनाले मीजावासँग चन्द्रमामा जानका लागि आवेदन दिइसकेका छन् । तीमध्ये धेरैजसो भारतीय छन् । त्यसपछि क्रमशः अमेरिका, जापान, फ्रान्स र ब्रिटेनका नागरिक आवेदन दिनेमा अग्रपंक्तिमा छन् ।
यसअघि मीजावाले कलाकारको टोलीलाई चन्द्रमामा लैजाने योजना बनाएका थिए । उक्त योजना रद्द गर्दै उनले एक चन्द्रमामा जानका लागि एक प्रेमिकाको खोजी पनि गरेका थिए । उनको प्रेमिकाका रुपमा चन्द्रमामा जानका लागि २७ हजारभन्दा बढी युवतीले आवेदनसमेत दिएका थिए । तर ती योजनालाई रद्द गर्दै उनले विभिन्न मुलुकबाट आठ जनालाई चन्द्रमामा लैजाने योजना बनाएका हुन् । डेली मेल


















