काठमाडाैं । मार्क्सवादी एकता अभियान नेपालले केपी ओली नेतृत्वको सरकारद्वारा बिप्लव नेतृत्वको नेकपा बिरुद्द लगाएको प्रतिवन्ध फुकुवा गरेको र सो पार्टीका नेता र कार्यकर्ताहरुमाथि लगाईएका मुद्दाहरु फिर्ता लिने र बन्दिहरुलाई रिहाई गर्नेसम्मका निर्णयहरु गरेकोमा सरकारलाई धन्यवाद दिदै सो कदमको स्वागत गरेको छ ।
यो सहमतिले देशमा बिद्यमान संकट समाधानका लागि देशभक्त र प्रगतिशील शक्तिहरुबीच ध्रुबीकरणको सम्भावनालाई पनि निकट बनाएको निष्कर्ष बैठकले निकालेको छ । अभियानका संयोजक प्राध्यापक रमेश शर्माको अध्यक्षतामा आज बुधबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले वर्तमान संसदीय पद्दतिमै बिश्वब्यापी रुपमा नै संकट पैदा भैरहेको वर्तमान अवस्थामा नेपालमा बिकसित राजनैतिक घटनाक्रमहरुले संसदीय व्यवस्थाले नेपालको सार्वभौमसत्ता र जनताको जनजीविकाका समस्याहरु समाधान गर्न नसक्ने कुरा स्पष्ट गरेको निष्कर्ष पनि निकालेको जनाईएको छ ।
बैठकले दुई तिहाई बहुमतको डबल नेकपाको सरकारले गरेको प्रतिनिधिसभा बिघटन र अदालतबाट भएको पुनर्स्थापनाका घटनाहरु पश्चात बैकल्पिक प्रधानमंत्रीका रुपमा आफूलाई प्रस्तुत गर्दै आएका पुष्पकमल दाहाल प्रचण्डले भारतलाई अनुकूल हुने सरकार आफ्नो नेतृत्वमा बनाउने सम्मका राष्ट्रघाती अभिब्यक्ति दिएबाट संसदबादी राजनीतिले देशको संप्रभुसत्तालाई विदेशी शासकहरु समक्ष समर्पण गर्ने धृष्टता नांगो रूपमा देखिएको पनि अभियानले ठहर गरेको छ।
बैठकले अब देशमा बिद्यमान संकटबाट निकास पाउन असफल सिद्द भैसकेको संसदीय ब्यवस्थाको बिकल्पमा देशको संप्रभुसताको सम्मान गर्ने देशभक्तहरुको र जनताको जनतन्त्र एवं जनजीवीकाको सवाललाई प्राथमितकतामा राख्ने प्रगतिशील र सच्चा लोकतंत्रबादी राजनीतिक दलहरुका साथै सबै बौद्दिक ब्यक्तित्वहरु समेत बसेर सामुहिक निर्णयमा पुग्न सुझाव समेत गरेको छ ।


















