काठमाडौं । अदालतले एमाले ब्युँताइदिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली एकलौटी ढंगले अघि बढेको, नवौँ महाधिवेशनको विधान, नीति, कार्यदिशाविपरीत स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै इतर समूहले आक्रामक रुपमा सशक्त प्रतिकार गर्ने निष्कर्ष निकालेको छ ।
आज बिहीबार पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक अर्याल होटल बानेश्वरमा बसेको थियो । बैठकले ओलीका पछिल्ला गतिविधि पार्टी हितप्रतिकूल रहेको भन्दै वक्तव्य नै निकालेर विरोध र असहमति प्रकट गर्ने निचोड निकालेको वरिष्ठ नेता खनालले जानकारी गराएका छन् ।
फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतले पूर्ववत् अवस्थामा फर्काइदिएपछि ओली समूहले देशभर कार्यालयका बोर्ड परिवर्तन गरेको थियो । झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई निषेध गर्दै पार्टी कब्जाको शैलीमा अघि बढेको भन्दै सो समूह आक्रोशित बनेको छ । कैलालीमा भीम रावललाई निषेध गर्दै उनको नेमप्लेट हटाएर लेखराज भट्टको कायम गर्न खोज्दा दुई पक्षबीच झडप नै भएको थियो ।
“हामीले ओलीलाई अराजकता नियन्त्रण गर्न, पार्टीलाई विधि, पद्धति, विधानअनुसार चलाउन आग्रह गरेका छौँ । नगरे सशक्त प्रतिवाद हुन्छ,” खनालले भनेका छन् ।
खनालले आफू वामपन्थी सरकारकै निरन्तरताको पक्षमा रहेको पनि जनाए । अहिले एमालेभित्रको आन्तरिक एकतामै जोड दिएको र माओवादी केन्द्रलाई पनि साथै लिएर जानुपर्ने पक्षमा आफूहरू रहेको उनको भनाइ थियो ।
“अहिले हाम्रै नेतृत्वमा सरकार छ । वामपन्थी नेतृत्वको सरकारकै निरन्तरताको पक्षमा छौँ । पार्टी अध्यक्ष र प्रधानमन्त्रीका हिसाबले ओलीले सबैसँग कुराकानी गर्नुपर्छ । बैठक बोलाउनुपर्छ,” उनले भने, “हामी नवौँ महाधिवेशनपछिको नीति, नेतृत्वअनुसार पार्टी चल्नुपर्छ भन्नेमा छौँ । को(को थप्ने हो बैठक राखेर छलफल गरौँ ।”
उनले माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा ुबादलु, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरूलाई कमिटीमा स्थान दिनुपर्ने पक्षमा आफूहरू रहेको तर बैठक राखेर निर्णय गर्नुपर्ने खनालको भनाइ रहेको छ ।


















