ग्याल्पो ल्होसारको अवसरमा ताप्लेजुङका तीन स्थानीय तहमा बिदा

208

ताप्लेजुङ । जिल्लाकाे तीन स्थानीय तहले ग्याल्पो ल्होसारका अवसरमा आज सार्वजानिक बिदा दिएका छन्।

मेरिङ्देन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाले ग्याल्पो ल्होसारमा सार्वजानिक बिदा दिएका हुन्।

शेर्पा समुदाय बसोबास भएको स्थानीय तहले ग्याल्पो ल्होसारको दिन सार्वजानिक बिदा दिएको मेरिङदेन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर तुम्बाहङ्फेले बताए।

ताप्लेजुङको मेरिङदेन, आठराई त्रिवेणी र मैवाखोला गाउँ पालिकामा शेर्पाहरुको बाहुल्य छ।

बौद्ध धर्मावलम्बीको पर्व ग्याल्पो ल्होसार मान्यताअनुरूप हिमवत्खण्डबाट सुरु भएको ‘च्या लो’ (चरा वर्ष) लाई बिदा गरी ‘खि लो’ (कुकुर वर्ष) मनाइँदै आएको छ।

बौद्ध धर्मको महायानी सम्प्रदायमा साम्बोटा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु)मा कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चार वटा ल्होसार उल्लेख छ।

शेर्पा, तामाङ, भोटे, गुरुङ, थकाली, ह्योल्मोलगायत बौद्ध धर्मावलम्बीले पात्रोअनुसार चारै वटै ल्होसार मनाउने गरेको फक्ताङ्लुङ गाउँपालिका–७ घुन्सा निवासी पेमा शेर्पाले बताए।

ल्होसारमा छेमार र छेयाङ्फुद सजाउने गर्छन्। नौ प्रकारका खानेकुरा मिसाएर पकाइएका खाना (गुथुक), खप्स र फलफूल खाएर आफ्ना आफन्तलाई शुभकामना दिने गरेको शेर्पाले जानकारी दिए।

प्रत्येक वर्ष १२ लो (बाँदर, चरा, कुकुर, सुङ्गुर, मुसा, गाई, बाघ, बिरालो, ड्र्यागन, सर्प, घोडा र भेडा) वर्ष परिवर्तन भएर नयाँ वर्षको सुरुआत हुन्छ।

तिथि परिवर्तन भई १२ महिना सकिएर नयाँ वर्ष लागेसँगै ग्याल्पो ल्होसार मनाइने गरिन्छ। हिमाली क्षेत्रका बासिन्दाले ल्होसार (नयाँ वर्ष) लागेको शुभ सङ्केतस्वरूप जौ र गहुँका बाला राख्ने गर्छन्।

पात्रो अनुसार १२औं महिनाको पहिलो दिन सोनाम ल्होसार मनाउने गरेको फक्तालुङ गाउँपालिका–७ निवासी छेतेन लामाले जनाए।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here